arrow

तानातानमा वामदेव, ६ बुँदे फिर्ता लिन प्रचण्डको आग्रह, गौतमको अस्वीकार

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन २० मंगलबार
bamdev-news-a.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्नुअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनको निवास भैँसेपाटी पुगेका छन्। प्रधानमन्त्री ओलीसँग बेलुकी ६ बजे भेटेर विवाद निरुपण गर्ने बताएका प्रचण्ड एकाएक गौतम निवास पुगेका हुन्। गौतम भने वालुवाटार जाने तयारीमा थिए।

गौतम निकट स्रोतका अनुसार वालुवाटारमा ११ बजे प्रधानमन्त्री ओलीसँग गौतमको भेटघाटको समय रहेको थियो। त्यही बेला प्रचण्ड भैसेपाटी पुगेपछि भने उनी रोकिए। साउन १३ गते दुई अध्यक्ष सामु ६ बुँदे प्रस्ताव अघि सारेका गौतम त्यससता अर्का अध्यक्ष केपी ओली निकट हुन पुगेको विश्लेषण हुन थालेका बेला गौतमलाई भेट्न प्रचण्ड भैसेपाटी पुगेपछि उनी उतै रोकिएका हुन्।

दुई नेताहरुवीच पार्टीको आन्तरिक विवादबारे छलफल भएको थियो। विहान ११ बजे ओली र वामदेव भेटघाटको कार्यक्रम तय भएको थियो। ओलीपछि प्रचण्डपनि गौतमलाई भेट्न भैँसेपाटी पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। साँझ ओलीसँगको छलफल अघि गौतम निवास पुगेका हुन्। गौतमले नेकपा विवाद उत्कर्षमा पुगेका बेला सहमतिको लागि भन्दै ६ बुँदे प्रस्ताव अघि सारेसँगै ओली गौतमलाई भेट्न उनको निवास पुगेका थिए। गौतमको ६ बुँदे प्रस्तावमा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने उल्लेख छ।

प्रचण्ड एकता महाधिवेशनसम्म पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने, पार्टीको एकता महाधिवेशन सहमतिको आधारमा गर्ने, प्रधानमन्त्रीको दैनन्दिनका कामहरुमा हस्तक्षेप नगर्ने गौतमको प्रस्ताव छ। तर, सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयसँग परामर्श गर्नुपर्ने समेत उल्लेख छ। यसबाहेक पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शको आधारमा मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्नुका साथै संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयमा परामर्श लिने पनि गौतमको प्रस्ताव छ।

यसबाहेक पार्टी बैठकहरु पार्टी कार्यालयमा मात्रै गर्ने पनि उनको प्रस्ताव छ। प्रचण्डले आजको भेटमा गौतमलाई ६ बुँदे प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए। सो प्रस्तावले ओलीलाई झन बलियो बनाउने र पार्टीको नीति र विधिलाई कमजोर बनाउने भएकाले फिर्ता लिनुपर्ने प्रचण्डको आग्रहलाई गौतमले सहमतिको मार्गचित्र त्यही भएकाले फिर्ता लिन नसकिने जनाएको स्रोतको दावी छ।

लगत्तै गौतमलाई आस्वस्त पार्न ओली भैसेपाटीस्थित निवास पुगेर यसअघि गौतमसँग भएका सहमति कार्यान्वयन गर्ने आश्वस्त पारेका थिए। नेकपा विवादमा कहिले प्रचण्ड र कहिले ओली खेमातिर लाग्दै आएका गौतम पछिल्लो समय ६ बुँदेमार्फत ओली कित्तामा उभिन पुगेको भनिएका बेलामा नेकपा सचिवालयमा ओली पक्षको बहुमत पुगेको विश्लेषण हुन थालेको छ। साउन १३ गतेको स्थायी कमिटी बैठकमा गौतमले २७ मिनेट ओलीलाई गाली गर्दै ६ बुँदे प्रस्ताव प्रस्तुत गरेका थिए। गौतमले ओलीलाई गाली गरेको विषयमा कतै समाचार नबनेपनि ६ बुँदे प्रस्तावको चर्चा भने अहिलेसम्म चलिरहेको छ।



लोकप्रिय समाचार
नयाँ