arrow

स्वास्थ सामग्री खरिदमा भएको भ्रष्टाचारको छानबिन र कारवाही गर्न देउवाको माग र सुझाव

logo
प्रकाशित २०७७ साउन २० मंगलबार
sher-bahadur-deuba.jpg.jpeg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण रोक्न प्रमुख प्रतिपक्षी दलका नेतासहति विज्ञहरुसंग परामर्श गरेकोमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले ७ बुंदे सुझाव र माग राखेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित जनस्वास्थ्य विज्ञ डा रविन्द्र पाण्डेसहितका विज्ञहरु सहभागी भएका थिए ।

कांग्रेस सभापति देउवाले दिएका सुझावहरु यस प्रकार रहेका छन्-

(१) हालसम्मका कमजोरी र प्रगतिको गहिरो समिक्षा गरियोस् । स्वास्थ सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप होइन छानबिन र कार्वाही गरियोस् ।

(२) नेपाली कांग्रेसले विगत देखिनै अघि सारेका माग तथा परिवर्तित स्थितिमा निम्न बिषय सम्बोधन गरेर युद्धस्तरमा कार्य गर्न बिशेष ध्यानाकर्षण गराउंदछु——

क) आरडीटी परिक्षण स्थायी रुपले अन्त्य ।

ख) सम्पूर्ण रुपले पीसिआर परिक्षण गर्दै एक प्रदेशमा एकलाख नयाँ परिक्षण तत्काल प्रारम्भ गर्ने गरि आवश्यक बन्दोबस्त ।

ग) स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध । अत्यावश्यक पर्ने औषधि रेमडिसिभरको आयातमा तदारुकता । आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध ।

घ) मापदण्ड अनुरुप क्वारेन्टाइनहरुको यथाशीघ्र ब्यवस्थापन ।

ङ) विदेशमा अप्ठ््यारोमा परेका नेपालीको निःशुल्क उद्वार गरि क्वारेन्टाइन र परिक्षण पश्चात् घर पु¥याउने ब्यवस्था ।

च) नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक सिमानाको आवागमनमा सम्पूर्ण कडाइ र सिमा नाका सिल ।

छ) सुरक्षाका लागि मास्क लगाउने अनिवार्यता संगै चेतनामूलक अभियानमा आम संचारका माध्यमको व्यापक प्रयोग ।

(३) परिस्थिति अनुरुपका रणनीति निर्माण गर्न बिज्ञहरुसंग परामर्श गर्ने क्रमलाई नियमितता दिएर निर्मित रणनीतिको चुस्त कार्यान्वयनका लागि तदारुकता राखियोस् ।

(४) विभिन्न दल, संघसंस्था र आम संचार माध्यमका सुझाव नियमित रुपले ग्रहण गरेर कार्य गर्ने प्रवृत्ति आत्मसात गरियोस् ।

(५) उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण र कार्यान्वयन गरियोस् ।

(६) विभिन्न जायज माग अघि सारेर आमरण अनशनमा बसेका युवाहरूको भावना तत्काल सम्बोधन गरेर उनीहरुको जीवन रक्षा गरियोस् ।

(७) बर्ग, क्षेत्र र परिस्थिति हेरि राहतका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन ब्यवस्थित ढंगले गरियोस् ।

देशभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अनियन्त्रित शैलीमा फैलिँदै गएपछि ओलीले मंगलबार जनस्वास्थ्यविद्हरुसंग छलफल गरिरहेका हुन् ।

पहिलो पटक प्रतिपक्षी दलका नेताहरुसमेत रहेकाले यही परामर्शबाटै अबको निर्णय निस्कने अपेक्षा गरिएको छ । प्रतिपक्षी दलका नेतालाई राखेपछि प्रधानमन्त्री ओलीले सबैको विश्वास लिएर अगाडि बढेको देखाउन समेत खोजेका छन् ।



लोकप्रिय समाचार
नयाँ