arrow

उपत्यकामा ६२ सहित मुलुकमा थपिए २५९ जना नयाँ संक्रमित

logo
प्रकाशित २०७७ साउन २० मंगलबार
corona-nepal-ministry.JPG

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म जम्मा संक्रमितको सङ्ख्या २१ हजार ९०० पुगेको छ । 

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभरका प्रयोगशालामा सात हजार ६८७ पिसिआर नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमण पुष्टि भएको बताए । हालसम्म  सक्रिय संक्रमितको सङ्ख्या पाँच हजार ९२५ रहेको छ । 

त्यसैगरी काठमाडौँ उपत्यकामा विभिन्न सात परीक्षण केन्द्रमा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँमा ४८, ललितपुरमा एक तथा भक्तपुरमा १३ व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो । हालसम्मा चार लाख छ हजार ५९४ को परीक्षण गरिएको छ । 

संक्रमितमध्ये १५ हजार २६ जना उपचार पछि निको भएर घर फर्केका छन् । मंगलबार थप एक जनाको कोरोनाको कारण मृत्यु भएको छ । मोरङ जिल्ला घर भएका ७७ वर्षका पुरुषको कोरोना संक्रमणको कारण हिजो मृत्यु भएको हो । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट ५८ जनाको मृत्यु भएको छ । 

सरकारले पछिल्लो समय काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकामा पनि परीक्षण गर्न थालेको छ । परीक्षणको क्रममा मंगलबार नागढुङ्गामा एक हजार ३०७ जनामा गरिएको परीक्षणमा १६, फर्पिङमा तीन हजार ४८२ जनामा गरिएको परीक्षणमा १३ र साँगामा छ हजार ६४ जनामा गरिएको  परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी गराएको छ ।

 हाल दश हजार ४५२ जना क्वारेन्टिनमा रहेका छन् । विगत २४ घण्टामा ६५ जना निको भएर घर फर्केका छन् । 



लोकप्रिय समाचार
नयाँ