मुस्ताङ। राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको कालीगण्डकी कोरिडोरको बेनी जोमसोम कोरोला सडक कालेपत्रे हुनै लाग्दा बाढी पहिरोले ठूलो क्षति पुर्याएको छ । बेनीदेखि जोमसोम खण्डका दर्जनौं ठाउँहरुमा बाढी पहिरोले बाटोको निशानासमेत नराखी ध्वस्त बनाएको छ ।
कतिपय ठाउँमा कालीगण्डकी नदी र पहिरोले बाटोको नाम निशान नरहने गरी बगाएपछि मुस्ताङ असार २६ बाट पूर्ण रुपमा बिच्छेद भएको छ । पानी परिरहेको र बाटोमा ठूलो क्षति भएका कारण बेनी-जोमसोमसम्मको ट्रयाक खोल्नसमेत महिनौं लाग्न सक्ने स्थानीय सांसद प्रेमप्रसाद तुलाचनले बताए ।
बेनीबाट तातोपानीसम्म एकतर्फी ट्रयाक खोले पनि त्यसभन्दा माथिको भाग खोल्न समय लाग्ने देखिएको उनले बताए । लेतेबाट तलतिर पनि ट्रयाक खोल्ने काम भइरहे पनि माथिल्लो भागमा तेल लैजान नसकेको कारण अभाव देखिएको उनले बताए ।
लामो समयसम्म बाटो नखुलेपछि जोमसोम लगायतको माथिल्लो भेगमा ग्यास, खाध्यान्न लगायतका अभावहरु देखिन थालेको छ । सांसद तुलाचनका अनुसार मुस्ताङको थार्साङ गाउँपालिकादेखि म्यादीको गलेश्वरसम्मको भू–बनोट नै छुट्टै किसिमको छ । निकै कमजोर छ । वातावरण मुल्याङ्कन प्रभावको अध्ययन नगरिकन साधारण किमिसले ट्रयाक खोलेका कारण नै आज यो अवस्था आएको उनले बताए ।
उनका अनुसार मुस्ताङको थार्साङ गाउँपालिकादेखि म्यादीको गलेश्वरसम्म भू–बनोट पानी परिरहने, पहिरो जाने, जमीन भासिने ठाउँ हो । ‘मैले एक बर्ष अघि नै यो ठाउँको बाटोको रेखाङ्कन नै परिर्वतन गर्नुपर्छ भनेर लेखेर दिइसकेको छु । यही भूभागबाट पुन: यही डिजाइनमा काम गर्ने हो भने यो बाटोले छोरा नातीहरुसम्मलाई नै असर पर्नेछ’ सांसद तुलाचनले भने ।
यस बाटोको मूख्य समस्या भनेको नै भौगोलिक भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए । कतिपय ठाउँमा खोला र पहिरोले बगाएर बाटो नै छैन । यहाँको अवस्था हेर्दा निर्माण ब्यवसायीलाई दोष दिने ठाउँ छैन । उनीहरुले काम राम्रैसँग अगाडी बढाएका थिए । ‘पहिले हेर्न जाँदा पिच गर्न सकिने अवस्थामा पुगेको देखेका थियौं । अहिले धेरै ठाउँमा बाटोको नाम निशाना नै नदेखिने गरी बगाएको छ । तातोपानी एरियाबाट चाहिँ खोला पारीबाट बाटो लगेको भए अहिलेको समस्या कम हुने थियो’ प्रजिअ अर्यालले भने ।
सडकको अवस्था मूल्याङ्कन गरेरमात्र बैकल्पिक बाटोको बारेमा निर्णय लिन सकिने सडक विभाग अन्तर्गतको उत्तर दक्षिण सडक बिस्तार निर्देशनालयका निर्देशक शिव नेपालले बताए । पहिला एकतर्फी बाटो खोलेपछि सर्वे गर्ने टिम पठाउने उनले बताए । टिम पठाएर मात्र दीर्घकालीन समस्याको बारेमा हेरिने उनले बताए ।
असारको अन्तिम हप्तादेखिको अविरल वर्षा र पहिरोले बेनि घासा सडक खण्डको जलथल क्षेत्र, गुइठे भीर, गुईठे, सुकेबगर, खामभिता, दाना, लाते खोला, रुपसे खोला र काभ्रेभीर क्षेत्रका खण्डहरु पूर्ण रुपमा बगाएर ठूलो क्षति गरेको कालीगण्डकी कोरीडोर (बेनी जोमसोम कोरोला सडक) योजना निर्माणकर्ता मध्येका गजुरमुखी निर्माण कम्पनीका प्रतिनिधि नरेन्द्र न्यौपानेले बताए ।
वातावरण मुल्याङ्कन प्रभावको अध्ययन नगरी बाटो निर्माण गर्नु ठूलो गल्ती – सांसद तुलाचन
सांसद प्रेमप्रसाद तुलाचनका अनुसार स्थायी समाधानको लागि कतिपय ठाउँमा बाटोको ट्याक नै परिर्वतन गर्नुपर्छ । बाटोको ट्याक खोल्ने काम भइरहे पनि पानी परिरहेको कारण समय लाग्ने देखिएको छ । लेते भन्दा तलचाहिँ ट्रयाक खोल्ने काम भइरहे पनि पानी पर्ने बित्तिकै भत्किने भैरहेको छ । फ्युलको अभाव भएको कारण खन्न निक्कै गाह्रो भएको छ । पुल बगाएको छ ।
काभ्रे भीरमा सबैभन्दा ठूलो समस्या देखिएको छ । चट्टान निस्किएको छ । भिरालो परेको भूभाग भएकोले मेशिनले काम गर्न सक्ने अवस्था छैन । विष्फोटक पदार्थ प्रयोग गर्नुपर्ने देखिएकोले म्याग्दी प्रशासनमा प्रक्रिया अगाडि बढाइएको छ । काम भइरहेको छ तर पनि धेरै नै क्षति भएकोले ट्रयाक खोल्न समय लाग्न सक्छ ।
मौसमले साथ दिएको खण्डमा २०–२५ दिनमा सकिएला तर मौसमले साथ दिएन भने महिनौं लाग्न सक्छ । नेपाल सरकारको सडक विभागले वातावरण मुल्याङ्कन प्रभाव अध्ययन गर्ने बेलामा इस्टिमेट र डिजाइनको स्टिमेट गर्दा भूगोल बिदहरु ल्याएर राम्रोसँग अध्ययन गरिनु पर्थ्यो । तर गरिएन छ । सबै भूभागमा भूगोल एक नासको छैन ।
मुस्ताङको थार्साङ गाउँपालिकादेखि म्यादीको गलेश्वरसम्म भू–बनोट नै छुट्टै किसिमको छ । कमजोर छ । वातावरण मुल्याङ्गन प्रभावको अध्ययन नगरिकन साधारण किमिसले ट्याक खोलेका कारण नै आज यो अवस्था आएको सांसद तुलाचनको दावी छ ।
उनी भन्छन्, ‘मुस्ताङको थार्साङ गाउपालिका देखि म्यादीको गलेश्वरसम्म भू बनोट पानी परिरहने, पहिरो जाने, जमिन भासिने ठाउँ हो । मैले एक बर्ष अघि नै यो ठाउँको बाटोको रेखाङ्कन नै परिर्वतन गर्नुपर्छ भनेर लेखेर दिइसकेको छु । यही भूभागबाट पुन स् यही डिजाइनमा काम गर्ने हो भने यो बाटोले छोरा नातीहरुसम्मलाई नै असर पर्ने देखिन्छ । त्यो भूबनोट नै अर्कै किसिमको छ । मौसम रोकिने साथ भूगर्भविद्हरु ल्याएर अध्ययन गरेपछि मात्र थप काम गर्नु पर्छ ।’
भूगर्भविद्ले दिएको सुझाव अनुसार डिजाइन गरेर मात्र काम गरेमा दिगो हुने उनको दावी छ । उनले भने, ‘तातोपानीदेखि दानासम्मको ४–५ ट्रयाक नै परिर्वतन गर्नुपर्छ भन्ने मेरो भनाइ हो । प्रत्येक बर्ष पानी पर्ने बित्तिकै पहिरो जाने ठाउँ हो ।
सांसद तुलाचन भन्छन्, ‘सदरमुकाममा ग्यास, खाद्यान्न लगायतमा समस्या देखिन थालेको छ । स्थानीयले भने ६ महिना भन्दा बढी स्टक राख्ने हुँदा स्थानीय भन्दा सुरक्षा फौज तथा प्रहरीलाई बढी अभाव देखिएको छ । माथि लेते तिरबाट र तल तातोपानीतिर दुबै पट्टीबाट ट्रयाक खोल्न लागिरहेका छौं ।’
बेनी जोमसोम बाटोको मुख्य समस्या नै भैगोलिक हो – प्रजिअ अर्याल
असार २६ बाट बेनी-जोमसोम सडक पूर्ण रुपमा बिच्छेद भएको कारण खच्चडसमेत हिँडाउन नसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए । उनका अनुसार बाटोको ट्याक खोल्दा वातावरणीय प्रभाव मूल्याङकन (आइइ–इआए) गरिनुपर्यो सो गरिएको रहेन छ । भौगोलिक अवस्था कस्तो छ भनेर अध्ययन गरेर बाटोको ट्रयाक खोलिएको भए आज यो समस्या नआउने उनको दावी छ ।
यसको दीर्घकालिन समाधान गर्न पानी पर्ने क्रम रोकिएपछि बाढी आउन छोड्छ त्यसपछि मात्र दीर्घकालिन काम गर्नुपर्छ । अहिलेको अवस्था हेर्दा केही ठाउँमा त्यही ट्रयाक काम लाग्छ । केही ठाउँमा रेखाङ्कन नै परिवर्तन गर्नु पर्ने देखिन्छ । मुख्य समस्या भनेको नै भौगोलिक हो ।
कतिपय ठाउँमा खोला र पहिरोले बगाएर बाटो नै छैन । यहाँको अवस्था हेर्दा निर्माण ब्यवसायीलाई दोष दिने ठाउँ छैन । उनीहरुले काम राम्रैसँग अगाडि बढाएका थिए । पहिले निरीक्षणमा जाँदा पिच गर्न सकिने अवस्थामा पुगेको देखिएको थियो ।
तातोपानी एरियाबाट खोलामा पुल लगाएर खोला पारीबाट बाटो लगेको भए अहिलेको समस्या कम हुने देखिन्छ । तर पहिरो जाने ठाउँतिरबाट नै बाटो बनाएका कारण धेरै समस्या देखिएको बताए । सुरक्षाकर्मी समेतको सहयोगमा ट्याक खोल्ने काम भइरहेको छ । गलेश्वरको पुल बन्दै छ तातोपानीसम्म एकतर्फी बाटो भने खुलेको छ । पानी परेन भने १५–२० दिनमा बाटो खुल्न सकिने अनुमान छ । दाना, तितर, तातोपानी, रुसले छहरा, काभ्रेभीर, घोप्टे खोला, लेती खोला लगायतमा ठूलो समस्या देखिएको प्रजिअ अर्यालले बताए ।
ट्रयाक खोलेपछि सर्वे गरेर बैकल्पिक बाटोको बारेमा निर्णय गर्छौ – निर्देशक नेपाल
गलेश्वरदेखि लेतेसम्म २४–२५ ठाउँमा धेरै समस्या देखिएको उत्तर दक्षिण सडक बिस्तार निर्देशनालयका निर्देशक शिव नेपालले बताए । गलेश्वरको बेलीब्रिजमा ठूलो क्षति भएको छ । धेरै ठाउँमा कालिगण्डकी नदीले बगाएर लगेको छ । कतिपय ठाउँमा एक फिट पनि नराखी बगाएको छ । तातोपानीसम्म जेनतेन बाटो खुलेको छ । तातोपानीदेखि लेतेसम्म खोल्न बाँकी रहेको छ । यो ठाउँमा धेरै नै समस्या देखिएको छ । निर्माण व्यवसायी, स्थानीय, सुरक्षा निकाय लागिरहेका छन्।
पानी परिरहेकोले समय अलिक लाग्ने रिपोर्ट आएको देखिन्छ । तेलको समस्याको कारण पनि बाटो खोल्न समस्या देखिएको छ । भूगोल र प्राकृतिक कारण नै मुख्य कारण हो । यस बर्ष विगत बर्षहरुमा भन्दा धेरै पानी परेको कारण कालीगण्डकीमा आएको बाढी तथा विभिन्न ठाउँमा आएको पहिरोको कारण ठूलो समस्या देखिएको सडक विभाग अन्तर्गतको उत्तर दक्षिण सडक बिस्तार निर्देशनालयका निर्देशक शिव नेपालको दावी रहेको छ ।
गाउँतिर जाने बैकल्पिक बाटोको कारण समेत कतिपय ठाउँमा समस्या देखिएको हो । पहिला एकतर्फी बाटो खोलेपछि सर्वे गर्ने टिम पठाउने उनले बताए । सडकको अवस्था मुल्याङ्कन गरेर मात्र बैकल्पिक बाटोको बारेमा निर्णय लिन सकिने सडक बिभाग अन्तर्गतको उत्तर दक्षिण सडक बिस्तार निर्देशनालयका निर्देशक शिव नेपालले बताए । टिम पठाएर मात्र दिर्घ कालिन समस्याको बारेमा हेरिने उनले बताए ।
बाटो पूर्ण रुपमा क्षति हुनुको मुख्य कारण कालीगण्डकी नदीमा पानी परेर बाढी आउनु र लगातार पहिरो जानु नै भएको काली गण्डकी कोरिडोर अन्तर्गतको बेनी जोमसोम कोरोला सडकका पोजेक्ट म्यानेजर अशोक तिवारीले बताए ।
उनले भने, ‘२०७२ सालको भुकम्पले त्यहाँको पहाड हल्लाएर क्षति गरेको र लगातार पानी परिरहेको कारण चिराचिरा परेको पहाडमा पानी पसेर पहिरो गएको हुन सक्ने बताए । बाटो निर्माण कार्य राम्रोसँग भैरहेको अवस्थामा प्राकृतिक कारणले ठूलो क्षति भएको बताए । उनले बाटोको डिजाइनमा कुनै समस्या थिएन तर प्राकृतिक प्रकोपको कारण नै क्षति भएको बताए । ट्याक खोल्ने काम अगाडि बढिरहेको भए पनि कहिले सकिन्छ भन्ने कुरा मौसममा भर पर्ने बताए ।
अविरल वर्षा र पहिरोले बेनी घासा सडकमा धेरै क्षति गरेकोले यही अवस्थामा पुन: निर्माण गर्न कठिन – निर्माण व्यवसायी न्यौपाने
काली गण्डकी कोरीडोर (बेनी जोमसोम कोरोला सडक) योजना निर्माणकर्ता मध्येका गजुरमुखी निर्माण कम्पनीका प्रतिनिधि नरेन्द्र न्यौपाने (राजन) ले भने, ‘हामीले योजना र डिजाइन अनुरुप नै काम अगाडि बढाइरहेका थियौं । सडक निर्माण कार्यको मेशिनरी वाल, ग्यावियन वाल, प्लम्ब कंक्रीट वाल लगायतका टेवा पर्खालहरुको निर्माण कार्य लगभग सम्पन्न भैसकेको अवस्था थियो । नाली निर्माण, सडकको ग्रेड मिलाउने तथा चौडा गर्ने काम पनि अन्तिम चरणमा नै पुगेको थियो ।’
उनले भने, कालोपत्र गर्नको लागि बेस कुटी तयारी अवस्थामा नै थियौं । झरी सकिए पछि भदौ अन्तिम हप्तादेखि डिबिएसडी (कालोपत्रे) कार्य गर्ने योजना अनुरुप नै काम अगाडि बढिरहेको थियो । तर असारको अन्तिम हप्तादेखिको अविरल वर्षा र पहिरोले बेनी घासा सडक खण्डको जलथल क्षेत्र, गुईठेभीर, गुईठे, सुकेबगर, खामभिता, दाना, लाते खोला, रुपसे खोला र काभ्रे भिर क्षेत्रका खण्डहरु पूर्ण रुपमा बगाएर ठूलो क्षति गरेको अवस्था छ । निर्माणाधीन रुपसे खोला पुलको जगको पनि तलबाट नै पहिरोले खोलेकोले उक्त पुल पनि डिजाईन परिवर्तन नगरी सोही अवस्थामा पुन: निर्माण गर्ने अवस्था नरहेको उनको दावी रहेको छ ।
अब बाटो बनाउने उपाय के त ?
पहिलो उपाय डिजाईन परिवर्तन गरी पुन: निर्माण गर्ने नै भएको जानकारहरुले बताएका छन् । तर यस अवस्थामा अत्यधिक भेरिएसन भई लागत बढ्ने, समय धेरै थप लाग्ने हुन सक्नेछ । यसो गरेमा त्यहाँको भू–बनोटको अध्ययन गरिएन भने भविष्यमा फेरि पनि पहिरो आई पुन : क्षति हुने संभावना रहनेछ । त्यही ठाउँबाट बाटो लैजाँदा दीर्घकालीन समस्या हुन्छ कि हुँदैन भनेर हेर्नु जरुरी रहेको छ । त्यस क्षेत्रका सांसद तथा विगतमा निर्माण व्यवसायी समेत रहेका तुलाचन भने त्यहाँको रेखाङ्कन परिवर्तन नगर्ने हो भने सो बाटोले छोरानातिको पालासम्म पनि दु:ख दिने बताए ।
दोस्रो उपाय भनेको रेखाङ्कन परिवर्तन गर्नु नै हो । सो बाटोको निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन नभएकोले नै अहिलेको अवस्था आएको हो भन्नेमा धेरै सहमत देखिन्छन् । अहिले देखिएका भूबनोट कमजोर भएको ठाउँमा बाटोको रेखाङ्कन नै परिर्वतन गर्नुपर्ने जानकारहरुले बताइरहेका छन् । पहिरो खसिरहेको कतिपय ठाउँमा खोलामा पुल हालेर भए पनि जमिन दह्रो भएको खोला पारी पट्टीको जमिनबाट बाटो बनाउनु पर्ने हुन सक्ने मुस्ताङका सिडिओ अर्यालले बताए । अबको दीर्घकालीन समाधानको लागि त्यहाँको भूबनोटको अध्ययन गरेर सोही अनुसारको बाटोको डिजाइन गर्नुपर्ने देखिन्छ।