काठमाडौं। नेपाली नागरिकलाई कालापानी प्रवेशमा कुनै रोक नलगाएको भारतीय अधिकारीहरुले बताएका छन्। धार्चुलाका एसडीएम अनिल कुमार शुक्लाले आफुले नेपाली प्रशासनलाई लेखेको भनिएको उक्त पत्र गलत भएको भारतीय मिडिया टाइम्स अफ इण्डियालाई बताएका हुन्।
'भारतबाट कुनै पनि अधिकारीले नेपाली नागरिकलाई कालापानी प्रवेश गर्न रोक लगाएको व्यहोराको पत्र काटेको छैन्, त्यस्ता हावादारी कुराहरु लेखेर बस्न फुर्सद छैन र कुनै पनि त्यस्तो कागज नेपाली प्रशासनकहाँ पठाएको पनि छैन्,' शुक्लाले भने।
यसबाहेक अर्का भारतीय अधिकारीले पनि उक्त समाचारलाई अफवाह भएको बताए। पिथौरागढका जिल्ला मेजिस्ट्रेटले समेत यदि भारतीय अधिकारीहरुले त्यस्तो पत्र काटेको भए आफुलाई थाहा हुनुपर्ने बताएको सो पत्रिकाले लेखेको छ।
केहिदिन अघि केहि सञ्चार माध्यममा भारतीय प्रशासनले नेपाली नागरिकलाई कालापानी प्रवेशमा रोक लगाएको भन्ने समाचारहरु प्रकाशित भएका थिए। ती समाचारहरुमा सत्यता नरहेको भारतीय अधिकारीहरुलाई उद्धृत गर्दै टाइम्स अफ इण्डियाले लेखेको छ।