कोरोना संक्रमित देखिएको कम्पनीमा ६ दिनसम्म पनि सम्भावितको पीसीआर परीक्षण भएन, समानान्तर निर्माण सेवाले काममा लगाइराख्यो
साइटभित्रै डेढ सय भन्दा बढी निरन्तर काममा, सरकारले नभ्याएर पीसीआर नगराएको प्रोजेक्ट म्यानेजर भट्टराईको भनाई
प्रकाशित २०७७ साउन २१ बुधबार
56
Shares
काठमाडौं । राजधानीमा भएको समानान्तर निर्माण सेवा प्रालिले सर्लाहीबाट काठमाडौं लुकिछिपी छिरेका दुई जना कामदारलाई पीसीआर परीक्षण नगराई काममा लगाउँदा स्थिति भयावह देखिएको छ ।
गत साउन ११ गतेदेखि काममा खटिएका दुई जनामा शुक्रबारमात्र कोरोना देखिएको थियो । यसरी संगसंगै काम गर्नेलाई कोरोना देखिएपछि अन्य कामदारहरु चिन्तित भएका छन् ।
तर कम्पनीले अन्य कामदारलाई खुरुखुरु काममा आउन निर्देशन दिएअनुसार उनीहरु काममा खटिएका छन् ।
संगै काम गर्नेलाई कोरोना भएपछि आफूहरुलाई पनि सर्ने भन्दै क्वारेन्टिनमा बस्ने र पीसीआर परीक्षण गराइदिनुपर्छ भन्दासमेत कम्पनीले नमानेको पीडितको गुनासो छ ।
दवाव दिएपछि भोलि भोलि भन्दै टारिरहेको पीडितले बताए । पीडितले आफूहरुमाथि कम्पनीले खेलबाड गरेको आरोपसमेत लगाएका छन् ।
यता उक्त समानान्तरका प्रोजेक्ट म्यानेजर तुलसी प्रसाद भट्टराईले सर्लाहीबाट आएका दुई जनामा कोरोना संक्रमण भएको पुष्टि गर्दै अन्यको परीक्षण बुधबार गराउने बताए ।
शुक्रबार दुई संक्रमित भएको पुष्टि भए पनि अहिलेसम्म अन्यको परीक्षण नगराएको बारेमा भने उनले सरकारलाई दोष दिए ।
उनले भने, ‘हामीले जानकारी गराएकै हौं सरकारले नै ढिला गर्या हो । हामीले कोर्डिनेशन गरिराख्या छौं । सरकारले सबैतिर चाप छ भन्ने हिसाबले उनीहरुले नभ्याएरै हो ।’
साइटमा भएका डेढ सय भन्दा बढीको पीसीआर परीक्षण गराउने उनले बताए । साइट भित्र डेढ सय भन्दा बढी भए पनि बाहिर समेत पनि कामदार रहेका छन् ।
तर साइटमा काम भने रोकिएको छैन । म्यानेजर भट्टराईले भने, ‘साइटको काम भइराछ । साइटमै छन् सबै मान्छे । बाहिर निस्किएका छैनन् । सबै भित्रै हो ।’
सरकारमाथि तेर्सियो प्रश्न–
सरकारले दैनिक हजारौंको पीसीआर परीक्षण गर्न सक्ने क्षमता छ भनिरहेको छ । काठमाडौंकै १४ स्थानमा परीक्षण गर्न सकिने भनी प्रचार गरिरहेको छ ।
तर गएको शुक्रबार साउन १६ गतेदेखि सम्भावित संक्रमितहरु छट्पटिएर बसिरहेका छन् ।
अब सरकार कहाँ व्यस्त छ ? राजधानी भित्रै यस्तो हालत छ भने बाहिर के होला ? यो बदमासी सरकारको वा सही सूचना समयमा नदिने समानान्तरको ?
समानान्तरमाथि अर्को प्रश्न–
विश्व स्वास्थ्य संगठनले कम्तीमा दुई मिटरको दूरी बनाउन भनेको छ । डेढ सय भन्दा बढी (प्रोजेक्ट म्यानेजर भट्टराईले दिएको तथ्यांकअनुसार) जनाले एकै ठाउँमा काम गर्छन् ।
त्यसको मतलब उसले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनबाट प्राप्त मापदण्ड पूरा गर्न दिएको निर्देशनको समेत अवज्ञा भएको छ ।