सर्लाही । कोरोना भाइरस कोभिड १९ को संक्रमणको जोखिम बढेपछि सर्लाहीमा हीजो एक सूचना जारी गर्दै लकडाउनको घोषणा गरिएको थियो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बुधबार बिहान ६ बजेदेखि लागू हुने गरी बन्दाबन्दीको घोषणा गरिएको जानकारी दिए ।
सर्लाही जिल्ला भित्र एक हप्ताका लागि लकडाउन जारी भएको हो । जिल्ला सुरक्षा समिति, कोरोना संकट व्यवस्थापन केन्द्र र जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस अनुसार यस्तो निर्णय गरिएको हो । भने औषधी, खाद्यान्न,पेट्रोलियम पदार्थ खरिद जस्ता अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, इजाजत प्राप्त सवारीसाधन बाहेक मोटरसाइकलसहित अन्य सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन नगर्न, अत्यावश्यक उपभोग्य सामग्री विक्री गर्ने पसलबाहेक हाटबजार, मेला नलगाउन र कुनै पनि किसिमको सभासम्मेलन ,भोजभतेर आदि नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय सर्लाहीले सम्पूर्ण जिल्लावासीलाई आग्रह गरेको छ ।
कुनै पनि व्यक्तिले बन्दाबन्दीको उल्लंघन गरेमा कानून अनुसार कारबाही गरिने समेत प्रजिअ पौडेलले जानकारी दिनुभएको छ । अहिलेसम्म सर्लाहीमा ७५५ जनामा कोरोना भाइरसको सक्रमण पुष्टी भएको छ । जसमध्ये ५२९ जना सक्रिय संक्रमित रहेका छन् भने २२६ जना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन् ।
यसअघि , सदरमुकाम मलंगवामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले छिमेकी जिल्लाहरुमा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको पाइएपछि सर्लाहीका २० वटै पालिकामा समुदाय स्तरका कम्तीमा तीन सय जनाको थ्रोट स्वाब संकलन गरी कोरोना परीक्षण गराउने निर्णय भएको छ ।