काठमाडौं। बुधबार १ हजार ६ सय रुपैयाँले बढ्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। दिन दिनै नयाँ रेकर्ड राख्दै बढिरहेको सुनको मुख्य मंगलबार ९९ हजार ८ सय रुपैयाँ प्रतितोला रहेको छापावाल सुनको मूल्य बुधबार एकै दिन १ लाख १ हजार ४ सय रुपैयाँ प्रतितोला पुगेर नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबारको मूल्य अहिलेसम्मकै उच्च हो। महासंघका बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले सुनको मूल्य इतिहासकै सबैभन्दा बढी रहेको बताए। ‘दिनदिनै ऐतिहासिक मूल्य कामय हुँदै आइराख्या छ’ शाक्यले भने, ‘यो एकदमै ऐतिहासिक मूल्य हो।’
यसअघि गत चैतमा सुनको मूल्य प्रतितोला ८० हजार रुपैयाँ भन्दा कम नै थियो। लकडाउन सुरु हुन भन्दा एक दिनअघि छापावाल सुनको मूल्य ७७ हजार रुपैयाँप्रतितोला बिक्री बितरण भइरहेको थियो। सरकारले कोरोना भाइरस नियन्त्रण गर्ने भन्दै चैत ११ देखि लकडाउन लगायो । त्यसको एक दिनअघि चैत १० गते नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७७ हजार रुपैयाँ थियो। लकडाउनले कारोबार हुन छोडेसगै महासंघले सुनको मूल्य निर्धारण गर्न छाडेको थियो।
मुलुकलाई फाइदा
सुनको मूल्यवृद्धिले मुलुकलाई फाइदा हुने अर्थविदहरुले बताएका छन्। अर्थविद एवं नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षत्रीले सुनको मूल्यवृद्धिले मुलुकलाई फाइदा हुने बताए। नेपाली बैंकहरुसँग रिजर्भ सुन न्युनमूल्यांकलनमा रिजर्भ गरिएको र अहिले मूल्य बढेका कारण समग्रमा मुलुकलाई फाइदा हुने क्षत्रीले बताए। ‘मुलुकलाई त समग्रमा झन फाइदा हुन्छ। किनभने हाम्रो रिजर्भ रहेको गोल्डको मूल्य बढ्यो’ क्षत्रीले भने, ‘बैंकमा असाध्यै न्युन मूल्यांकनमा सुन राखिएको हुन्छ। मार्केटको हिसावले जाने हो भने त्यसको मूल्य धेरै गुणा बढ्यो। त्यो हिसाबले फाइदा हो।’ तर, अहिले मूल्य बढेर फाइदा ठानिएपनि यो दीर्घकालीन फाइदा नहुन सक्ने क्षत्रीले औंल्याए। ‘दीर्घकालीन रुपले यस्तै भइराख्छ भन्ने हुँदैन’ उनले भने, ‘अनिश्चितता हुन्छ।’
मूल्यवृद्धिले अवैधानिक रुपमा सुनको कारोबार बढ्न सक्ने समेत क्षत्रीले औंल्याए।
त्यस्तै नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले सुनमा अहिले गरिएको लगानी सम्पत्ति सञ्चितिका लागि राम्रो रहेको बताए । ‘यो चाँही सम्पत्ति सञ्चित गर्ने औजार हो। आर्थिक हिसाबले उत्पादनमुखी लगानी होइन’ थापाले भने।
व्यवसायी भन्छन् कारोबार ठप्प
बरिष्ठ उपाध्यक्ष शाक्यका अनुसार अहिले नेपाली बजारमा सुनको कारोबार करिब करिब ठप्प छ। सामान्य अवस्थामा दैनिक १२ देखि १५ केजी सुन विक्री हुँदै आएकोमा पछिल्लो समय लकडाउनयता करिब करिब ठप्प छ। ‘पहिला कारोबार भएन भन्ने अवस्थामा पनि दिनमा १० केजी सुन विक्री हुन्थ्यो’ उनले भने, ‘अहिले तुलना नै गर्न मिल्दैन। ग्राममा पनि जाला कि नजाला जस्तो भइसक्यो।’
मूल्य किन बढेको बढ्यै?
बजारको सिदान्त अनुसार कुनै वस्तुको माग बढ्दा मूल्य पनि बढ्नु स्वभाविक नै हो। तर, महासंघको भनाई अनुसार नेपाली बजारमा पछिल्लो समय सुनको माग एकदमै न्यून छ। माग नै नभएको अवस्थामा सुनको मूल्य किन वृद्धि? प्रश्न स्वभाविक उठ्छ। सुनको मूल्य अन्तर्राष्ट्रिय बजारले निर्धारण गर्ने भएकाले अहिलेको मूल्यवृद्धिले नेपाली बजारमा हुने कारोबारसँग खासै सरोकार नराख्ने बरिष्ठ उपाध्यक्ष शाक्य बताउँछन्। शाक्यका अनुसार मूख्य कारण कोरोना महामारीको प्रभावले नै मूल्य बढिरहेको हो।
कोरोना महामारीका कारण लगानीका अन्य क्षेत्र संकुचन भएका र लगानीका लागि सुरक्षित नै सुन देखेकाले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको शाक्यले बताए। ‘फेडरल रिजर्भ बैंकले ब्याजदर घटाएको एउटा कारण हो’ शाक्यले भने, ‘कोरोनाका कारण अन्य क्षेत्रमा लगानी गर्न जोखिम भएकाले लगानीकर्ताले सुनमा लगानी गर्न सुरक्षित लगानीका रुपमा लिएकाले पनि अहिले मूल्य बढिरहेको छ।’
कोरोनाका कारण अर्थतन्त्रमा परेको संकचुनले पछिल्लो समय अमेरिकी फेडरेल रिजर्भ बैंक लगायत शक्ति राष्ट्रका केन्द्रिय बैंकहरुले ब्याजदर घटाइरहेका छन्। त्यस्तै ठुलाठुला कम्पनीका सेयर मूल्यमा समेत गिरावट आइरहेका कारणले लगानीकर्ताले सुनमा लगानी गरिरहेका छन् । त्यसैको प्रभाव स्वरुप नेपालमा पनि सुनको मूल्य आकासिएको हो। सुनको मूल्य भविष्यमा कतिसम्म पुग्ने र अहिलेको अवस्था भन्दा घट्ने नघट्ने विषय अनुमान गर्न नसकिने बरिष्ठ उपाध्यक्ष शाक्य बताउँछन्।
‘व्यवसायीको नाफा बढी’
उपभोक्ता अधिकारकर्मीहरुले सुनको मूल्य अन्र्ताष्ट्रिय बजारले निर्धारण गर्ने भएपनि नेपाली व्यवसायीले नाफा अत्यधिक खाने गरेको टिप्पणी गरेका छन्। राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले राष्ट्र बैंकको नीति अनुसार प्रतितोला शुन्य दशमलव ५ प्रतिशत मात्रै नाफा खान पाउने भएपनि व्यवसायीहरुले चलखेल गरेर नाफा अत्यधिक लिने गरेको बताए। ‘सुनको मूल्यको उतारचढावमा अन्तर्राष्ट्रिय बजार भाउले गाइड गर्ने गरेको छ।
नेपालका सन्दर्भमा केही शंकास्पद कुराहरु छन्’ महर्जनले भने, ‘जस्तैः सुनमा व्यवसयीको नाफा शुन्य दशमलव ५ प्रतिशत प्रतितोलाका दरले मात्रै नाफा खान पाउने नीति छ। तर, व्यवसायीहरुले ढुवानी भाडा लगायतका लगानी समेत आफुखुसी जोड्ने गरेका घटना विगतमा भेटिएका छन्। त्यसले पनि मार्केटमा सुनको मूल्यमा फरक पार्छ।’ व्यवसायीले बढी नाफा खाने सन्दर्भमा सरकारले अनुगमन गर्नुपर्ने उपभोक्ताकर्मी महर्जनको भनाई छ।
महासंघका अनुसार नेपालमा सुनको मूल्यमा भन्सार सुल्क र बैंकको लकरमा राखेको सुल्क ‘होल्डिङ चार्ज’ले समेत प्रभाव पार्ने गरेको छ। वैधानिक रुपमा बैंकिङ च्यानलमार्फत सुनको कारोबार हुने गरेको छ। सो अनुसार बैंकमा राखेको सुल्क मासिक रुपमा लिने गरेका छन्।
त्यस्तै प्रति १० ग्राम सुनमा ८ हजार ५ सय रुपैयाँ भन्सार लाग्दै आएको छ। चालु आर्थिक वर्षको बजेटमार्फत पनि सरकारले सुनमा प्रति १० ग्राम २ हजार रुपैयाँका दरले भन्सार सुल्क थप गर्ने घोषणा गरेको थियो । यसअघि सुनमा प्रति १० ग्राम ६ हजार ५ सय रुपैयाँ भन्सार लाग्दै आएको थियो । गत चैतमा सरकारले एक निर्णय गर्दै दैनिक १० किलोग्राम सुन आयात गर्न पाउने व्यवस्था कायम गरेको छ। यद्यपि कोरोना महामारीका कारण उक्त परिणाममा समेत सुन आयात नभइरहेको व्यवसायी बताउँछन्।
नेपाल बैंकर्स संघका अनुसार अहिले वाणिज्य बैंकहरुसँग २ सय ७५ केजी सुन मौज्दात रहेको छ । लकडाउनयता विक्री ठप्प भएको सुन पछिल्लो एक हप्तायता विक्री भइरहेको बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले बताए । उनका अनुसार पछिल्लो एक हप्तामा मात्रै बैंकहरुले ४५ केजी सुन विक्री गरेका छन्। ‘एकदुई महिनायता विक्री भएको थिएन’ कार्यकारी निर्देशक शर्माले भने, ‘पछिल्लो एक हप्तामा ४५ केजी विक्री भएको छ।’ भन्सार विभागका अनुसार नेपालमा मासिक करिब १ अर्ब रुपैयाँ बराबरको सुन आयात हुने गरेको छ । गत आर्थिक वर्ष २०७६/७७मा ११ अर्ब ९६ करोड रुपैयाँ बराबरको सुन आयात भएको विभागको तथ्याङ्क छ।