वीरगंज। वीरगंज महानगरपालिकाका दुई वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायत एक दर्जन कर्मचारी र पर्सा कारागारका जेलर सहित पर्सामा ११६ जना कोरोना संक्रमित भएका छन् ।
बुधबार सार्वजनिक भएको कोरोना संक्रमितहरुको सूचीमा १७ जना बाराका छन् । दुई जिल्लाका गरि कुल संक्रमितहरु गरी १३३ जना रहेको नारायणी अस्पतालले जनाएको छ ।
संक्रमितहरुमध्ये वीरगंज महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत साह कानु र वडा नं. १८ का वडा अध्यक्ष ब्रह्मदेव राउत कुर्मी, महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार निरौला, उनकी श्रीमती, योजना महाशाखाका अधिकृत सुमन श्रेष्ठ, आ.ले.प. अधिकृत हरिशंकर प्रसाद कुर्मी, नगर प्रहरी इन्चार्ज हरि भुषाल लगायत एक दर्जन भन्दा बढी महानगरका कर्मचारीहरु संक्रमित भएका हुन् । यसैगरी वीरगंज कारागारका जेलर श्रावण पोख्रेल पनि संक्रमित भएका छन् ।
वीरगंजमा संक्रमितहरुलाई राख्न उचित क्वारेन्टाइनको व्यवस्था नभएकोले ५ सय भन्दा बढी संक्रमितहरु आ–आफ्नै घरमा बसेका छन् । कैयौ संक्रमितहरु खुल्ला रुपले हिडडुल गरेर अरुलाई पनि संक्रमित बनाउँदै हिडिरहेको अवस्थाप्रति कडा प्रतिक्रिया दिंदै जसपा नेता सुन्दर कुर्मीले तीनै तहको सरकार कोरोना नियन्त्रणमा असफल भएको बताए ।
विगत ११ दिनदेखी निषेधाज्ञा जारी रहेको र दैनिक जीवन यापनको लागि चाहिने सामग्रीको व्यवस्था स्थानीय प्रहरी प्रशासनले नगरेको कारण पर्सा जिल्लामा निषेधाज्ञाको उल्लंघन भई स्थिती थप जटिलतातर्फ उन्मुख हुने अवस्था बढेर गएको छ ।