काठमाडौं । प्रतिभाकी धनी गरिमा ज्ञवालीले अमेरिकामा रहेर सुरक्षित तीज गीत निकालेकी छिन् ।
कोरोना भाइरस (कोभिड–१९) को मारमा परेको विश्वलाई नै सचेत पारेर सुरक्षित रही सामाजिक दूरी कायम गरेर तीज मनाउन सन्देश दिँदै उनले तीज गीत गाएकी हुन् ।
दयाराम पाण्डेको रचना तथा बीबी अनुरागीको संगीतमा तयार भएको उक्त गीत गरिमाकी आमा राधा ज्ञवालीले निर्माण गरेकी हुन् ।
यो भिडियोका निर्देशक समन अधिकारी हुन् । त्यसैगरी भिडियो सम्पादन पनि उनैले गरेका हुन् ।
आमाछोरी नै हाल अमेरिकामा छन् । ‘सुरक्षित तीज’ गीत मंगलबार ओएसआर डिजिटलमार्फत बाहिर आएको हो ।
एक लाख भन्दा बढीले दुई दिनको अवधिमा हेरिसकेका छन् । गीतलाई निकै रुचाइएको छ ।
गरिमासंगै रुबिना अधिकारी, नग्मा श्रेष्ठ, बिनु शाक्य र गुराश ढकालले नृत्य प्रस्तुत गरेका छन् ।
तीज यही भदौ ५ गते अगष्ट २१ तारिखमा परेको छ । नेपाली महिलाहरु विश्वको जुनसुकै कुनामा बसे पनि तडकभडक गर्न छाड्दैनन् ।
यही मेसोमा गरिमाले अमेरिकामै रहेर पनि सामाजिक दूरीसहित घरमै रहेर तीज मनाउन सन्देश दिएकी छिन् ।
को हुन् गरिमा ?
मुल घर अर्घाखाँचीको बल्कोट भएकी गरिमा सन् २०१० मा लिलिट लेडी क्यापिटलकी फस्ट रनर अप हुन् । उनी लिटिल मिस आइडल २०१२ हुन् । उक्त उपाधि जित्ने क्रममा उनले मिस ट्यालेन्टको उपाधि पनि जितेकी थिइन् ।
उनले लिटिल मिस वल्ड नेपाल २०१४ को उपाधिसहित ट्यालेन्टको अवार्ड पनि हात पारेकी थिइन् ।
त्यस्तै टर्की लिटिल मिस वल्ड २०१४ डिजाइनर प्रिन्सेस अफ द वल्ड र मिस पर्सनालिटीको अवार्ड जितेकी थिइन् ।
टर्की फेस्टिवल ग्लोबल एन्ड ट्यालेन्ट वल्डमा उनले बेष्ट क्याटवक र मिस एसियाको उपाधि जितेकी थिइन् ।
त्यस्तै मिन्नेसोता ग्लोबल युनाइटेड पेजेन्टमा फस्ट रनर अप र बेष्ट ट्यालेन्टको उपाधि पनि जितेकी थिइन् ।
गरिमाले तीन वटा गीतका एल्बमसमेत निकालेकी छिन् । गरिमाको मन, सुनकेसरी र लालिमा ।
त्यस्तै तीन वटा चलचित्रहरु विजयपथ, दिलमाया र टाइगर द रियल हिरोमा समेत उनको गीत समावेश रहेको छ ।
गरिमाले अमेरिकामा १२ कक्षाको पढाइ सकेकी छिन् । उनी आमासहित न्यूयोर्कमा बस्छिन् ।