arrow

उपत्यकामा ८७ सहित नेपालमा ३६० थपिए संक्रमित, पाँच जनाको मृत्यु

logo
प्रकाशित २०७७ साउन २२ बिहिबार
corona-nepal-ministry.JPG

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ६२२ जनामा गरिएको पिसीआर परीक्षणमा उक्त सङ्ख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 

यससँगै नेपालमा संक्रमितको सङ्ख्या २१ हजार ७५० जना पुगेको छ । त्यस्तै सक्रिय संक्रमितको सङ्ख्या भने ६ हजार २९६ रहेको छ । 

त्यसैगरी पछिल्लो २४ घण्टामा २३३ जना उपचारपछि निको भएका छन् भने नेपालमा हालसम्म १५ हजार ३८९ जना उपचारपछि निको भएका छन् । 

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप पाँच जना व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङका ४५-४५ वर्षीय दुई पुरुष, सर्लाहीका ६५ वर्षीया महिला, धनुषाका ७२ वर्षीया महिला र सप्तरीका ४२ वर्षीय पुरुष रहेका छन्को । उनीहरु सबैको निधन साउन २१ गते भएको हो । यससँगै कोरोना भाइरसबाट निधन हुनेको सङ्ख्या ६५ पुगेको छ । 

त्यसैगरी काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ८७ जना कोरोना संक्रमति थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा ७६, ललितपुरमा १० र भक्तपुरमा एक जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो । 

मन्त्रालयका प्रवक्ता डा गौतमले काठमाडौँ उपत्यकालगायत अन्य बाक्लो बस्ती भएको ठाउँमा संक्रमणको दर बढेकाले अस्पतालमा बेड उपकरण र स्वास्थ्यकर्मी अभाव हुन सक्ने भएकाले सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् । उनले कोरोनाको औषधि पत्ता नलागिसकेको भन्दै सबै अस्पतालले चिकित्सकलाई सिफ्टअनुसार मिलाएर काम गराउन आग्रह गरे ।



लोकप्रिय समाचार
नयाँ