काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको छ । सुनचाँदी व्यासायी महासंघका अनुसार बिहीबार तुलनामा १ हजार रुपैयाँले वृद्धि भएर सुनको उक्त मूल्य कायम भएको हो ।
बिहीबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ रहेको थियो । त्यसअघि बुधबार सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ रहेको थियो ।
पछिल्लो समय कोरोना भाइरसका कारण लगानीका अन्य क्षेत्रमा लगानी गर्न असुरक्षित ठानेकाले अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी बढिरहेका कारण सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
नेपाली बजारमा समेत सुनको मूल्य अन्तर्राष्ट्रि बजारमा आधारित हुनेभएकाले त्यसैको प्रभावस्वरुप नेपालमा पनि सुनको मूल्य निरन्तर उकालो रहेको महासंघले जानकारी दिएको छ ।
धनसम्पत्ति हुने लगानीकर्तालाई लगानी गर्न कोरोनाका कारण समस्या परेकोले आफ्नो लगानी सुरक्षित गर्न लगानीकर्ताले सुनमा लगानी गरिरहेका नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए ।
‘धन सम्पति भएकाहरुलाई कहाँ लगानी गर्ने ? के गर्ने भन्ने भएको छ’ थापाले भने, ‘त्यो हिसावले सुन एउटा वैकल्पिक लगानीको उपकरणको रुपमा लिइएको छ ।’
त्यस्तै संस्कार, संसकृतिहरुले पनि सुनमा लगानी गर्न प्रोत्साहित गरिने थापाले बताए ।