काठमाडौं। सत्ता राजनीतिले नेपाल कम्युनिष्ट पार्टीको विवाद उत्कर्षमा पुगेका बेला पार्टी अध्यक्ष प्रधानमन्त्री केपी ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दुरी बढ्दै गएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएपछि सुरु भएको नेकपाभित्रको विवादले अध्यक्षद्वयबीचको दूरी बढ्दै गएर पछिल्लो दिनमा संवादहिनताको अवस्थामा पुगेको छ।
अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक कार्यक्रममा अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई लक्षित गरी अभिव्यक्ति दिएको, पत्रकारहरुलाई बोलाएर पार्टीको विवाद बाहिर ल्याउने काम गरेको भन्दै वालुवाटारले अघोषित रुपमा भेटघाटलाई महत्व नदिदा उनीहरुवीच असहज अवस्था पैदा भएको हो।
असार १० गतेबाट शुरु भएको नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा मागिएपछि सुरु भएको विवाद अझै साम्य भएको छैन। यसबीचमा दुई अध्यक्षबीच दर्जनौं पटक एक्ला एक्लै र सामुहिक छलफल भएपनि निष्कर्ष निस्कनुको साटो झन दुरी बढेको छ। अझ गत बुधबार दाहाल सहित नेकपाका चार नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठले सामूहिक रुपमा नेकपाका बिट रिपार्टरसँग केपी ओलीले गर्न खोजेको के र आफूहरुले उठाएको विषय के हो भन्ने बारेमा धारणा राखेपछि त्यही बेलुका हुने भनिएको भेटघाटलाई ओलीले रोकेका थिए। बुधबार हुने भनिएको भेटघाट विहिबार पनि हुन सकेन भने शुक्रबार विहानसम्म वालुवाटारबाट दाहाललाई भेटवार्ताका लागि कुनै खबर नआएको खुमलटार स्रोतले जनाएको छ।
पछिल्लो समयमा दाहालले प्रधानमन्त्री ओलीले पार्टी विभाजन गर्न लागेको र त्यसैको कडी स्वरुप निर्वाचन आयोगमा नेकपा एमाले नाम गरेको दल गर्दा गराएको आरोप लगाउँदै आफूहरु सधैं पार्टी जोगाउन लागिपरेको दाबी गर्दै आएका छन्। नेकपाका केन्द्रीय सदस्य जगन्नाथ खतिवडा बुधबारको पत्रकार भेटघाटलाई देखाएर ओली पक्ष संवादबाट टाढा हुन खोजेको बताउँछन्। ‘ उहाँहरुलाई के निहुँ पाउ भएको थियो, वालुवाटारमा बोलाएर कुराकानी गर्दाचाहि गुट भेला हुदैन बाहिर केही छलफल भयो भने उहाँहरुका लागि गुट भेला हुन्छ’, नेता खतिवडाले भने।
बुधबार राजधानीमा भएको पत्रकार भेटघाटमा पनि सो विषयले प्राथमिकता पाएको थियो। दाहाल पक्षीय नेताहरुले प्रधानमन्त्री ओलीले पार्टी विभाजन गर्ने उद्देश्यले नै एमाले दल दर्ता गराएको दाबी गरेका थिए। सचिवालयमा स्पष्ट बहुमतमा रहेका प्रधानमन्त्री ओली संसदीय दलमा पनि बलियो अवस्थामा रहेपछि दाहाल समूह दबावमा परेको छ। अध्यक्ष दाहालसहित, वरिष्ठ नेताहरु माधव नेपाल र झलनाथ खनालले पनि प्रधानमन्त्री ओलीमाथि विभिन्न आरोप लगाउँदै आएका छन्। जसको प्रधानमन्त्री निकट मानिने नेताले विरोध गरेका छन्।
नेकपा प्रचार विभाग उपप्रमुखसमेत रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेर दश वर्ष अघि भएको धोवीघाट गबन्धनको स्मरणसमेत गराएका थिए। विवाद बढ्दै जाँदा दुवै पक्षका नेताहरु आरोप प्रत्यारोपमा उत्रिएका छन्। त्यसमा पनि संस्थापन इतर समूहको उक्त गोप्य भेलाले दुई अध्यक्षबीचको सम्बन्ध झन् चिसिएको ओलीनिकट नेताहरूको बुझाइ छ। बुधबार अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीमाथि पार्टी फुटाउन खोजेको आरोप लगाएपछि त्यसअघि नै तय भएको दुई अध्यक्षबीचको भेट स्थगित भएको थियो। पछिल्ला केही दिनयता अध्यक्षद्वयले एक एक जना साक्षी राखेर छलफल गर्दै आएका थिए।
पार्टीभित्र संकट गहिरिएपछि र विभाजनकै खतरा बढेपछि नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ बिहीबार बिहानै कार्यकारी अध्यक्ष दाहालसँग छलफल गर्न खुमलटार पुगे। नेम्वाङले अध्यक्ष दाहालले बोलाएपछि आफू खुमलटार गएको बताएका छन्। जारी स्थायी कमिटी बैठकले निकास दिन नसकेको भन्दै अध्यक्ष दाहालले केन्द्रीय कमिटीको बैठक बोलाउनु पर्ने बताउँदै आएका छन् भने अर्का अध्यक्ष ओलीले यसअघि बसेको केन्द्रीय कमिटीले बैठकले आगामी चैतमा महाधिवेशन गर्ने निर्णय गरिसकेकाले सबै विषयको छिनोफोना महाधिवेशनले गर्ने भन्दै महाधिवेशनमा जानुपर्ने अडानमा छन्।
दाहालले माधव नेपाल पक्षलाई बोकेर हिँडेको र पूर्व माओवादीका वरिष्ठ नेतालाई साथ लिन नसकेको भन्दै विगतमा दाहाललाई साथ दिँदै आएका निकट नेताहरुले समेत साथ छोडेपछि दाहाल दबावमा परेका हुन्। तर यो विषयलाई पूर्व माओवादी नेताहरु भने मान्न तयार छैनन। पूर्व माओवादीका केही नेताहरु अहिलेको सरकार टिकाइराख्न चाहन्छन्। सत्तामा निकट रहेका पूर्व माओवादी नेताहरु भने ओलीलाई तत्काल सरकारबाट हटाउदा अप्ठ्यारो अवस्था आइपर्ने भन्दै दाहाललाई मनाउन लागिपरेका छन्। खासगरी रामबहादुर थापा समूहका नेताहरु अहिले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीले हटाउन नहुने पक्षमा रहेका छन्।