मनाङ। हिमाली जिल्ला मनाङमा खोलानालाले गर्दा सहज यात्रा गर्न सकिदैन । सहज यात्राको लागि बनाइएका काठका पुल हटाएर निर्माण गर्ने योजना सडक डिभिजन कार्यालय तनहुँले ५ वर्ष अघिदेखि गरेको हो । तर निर्माणको कामको थालनी गर्न सकेको थिएन ।
झन्डै ५ वर्षदेखि अलपत्र बेसीशहर–चामे सडक खण्डका मोटरेवल पुल निर्माणको काम अहिले तोकिएको समयमा हुन सकेको छैन । गत २०७२ सालदेखि द क्याराभान कन्सल्टेन्सीले यस सडक खण्डमा मनाङतर्फका खोलामा पक्की मोटरेवल पुल निर्माणको जिम्मा पाएको छ ।
सडक डिभिजन तनहुँसँग ३ वर्षमा मनाङका ५ वटा खोलामाथि पक्की पुल निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरेपनि अझै काम सम्पन्न हुने भने सकेको छैन । यस कम्पनीले ५ वटा पुल निर्माणका लागि सडक डिभिजनसँग रु.२२ करोड १० लाखको सम्झौता गरेको छ ।
यस कम्पनीले मनाङका म्यार्दी खोला, तिमाङ खोला, पिसाङ खोला, छार्ताङ र दुधखोला गरी ५ वटा खोलामा पुल निर्माणको जिम्मा पाएको छ । पटक–पटक म्याद थप गरी काम गरेपनि सम्झौता अनुसारको काम गर्न सकेको छैन ।
पछिल्लो समयमा कामको रफ्तार बढाएपनि भौगोलीक विकटता, प्राकृतिक प्रकोप र विभागीय प्रक्रियाले काममा ढिलाइ भएको कम्पनीका फिल्ड इन्जिनियर नारायण लामाले बताए।
विश्वभर फैलिएको कोभिड १९ को महामारीले पनि कम्पनीले निर्माणको कामलाई असर गरेको छ । समयमा सामग्री उपलब्ध गराउन नसक्नु, कामदारहरुको अभाव लगायतले काममा असर पारेको कम्पनीले जनाउदै आएको छ ।
पटक–पटक मोटरेवल पुल निर्माणको लागि म्याद थप्दा पनि काम नहुँदा स्थानीय तह र जिल्लाका जनप्रतिनिधिहरुको चासोले कामले गति लिएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिए। घलेका अनुसार पुल निर्माण नहुँदा स्थानीयवासी सहित हामी पनि काठको अस्थायी पुलबाट जोखिममा यात्रा गर्नुपरेको छ । ‘जोखिमको समाधान गर्ने काम हाम्रो दायित्व हो भनेर हामी लागिपर्दा अहिले पुल निर्माणले केहि गती पाएको छ,’ उनले भने ।
देशभर बन्दाबन्दीले कामदारहरु ल्याउन नपाउनु, आउन तयार रहेका कामदारको पनि पिसिआर गर्नुपर्ने, रिपोर्ट ढीलो गरी आउनुले अझ समस्या परेको फिल्ड इन्चार्ज सोमनाथ थकालीले बताए। उसै त देशैभर कोभिड संक्रमण फैलिएको छ । कोभिड संक्रमणका बाबजुत पनि यस कम्पनीले केही कामदार लगाएर कामको निर्माणको काम भने गर्दै आएको छ ।