काठमाडौं । स्पेनिश क्लब बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेका छन् ।
शनिबार राति अन्तिम १६ को दोस्रो लेगमा नापोलीलाई ३–१ गोलले हराउँदै समग्रमा ४–१ को नतिजा सहित बार्सिलोनाले अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो ।
नापोलीको घरेलु मैदानमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । क्याम्प नाउमा भएको दोस्रो लेगमा घरेलु टोली बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सी, क्लेमेन्ट लेन्गलेट र लुईस सुआरेजले एक एक गोल गरे ।
मेस्सीले च्याम्पियन्स लिगका १ सय ४२ खेलमा १ सय १५ गोल पूरा गरेका छन् ।
पहिलो हाफको खेल सकिन अन्तिम मिनेटमा लोरेन्जो ईन्साईनले पेनाल्टीमा नापोलीका लागि एक गोल फर्काएका थिए ।
पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोनाले क्वार्टरफाईनलमा जर्मन क्लब बायर्न म्युनिखसंग प्रतिस्पर्धा गर्नेछ ।
रोबर्ट लेवान्डोस्की चम्किँदा फराकिलो नतिजासहित म्युनिख क्वार्टफाईनलमा पुगेको हो ।
शनिबार राति भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा बायर्नले प्रिमियर लिग क्लब चेल्सीलाई ४–१ ले हराएको हो ।
बायर्न समग्रमा ७–१ को नतिजा सहित प्रतियोगिताको अन्तिम ८ मा स्थान सुरक्षित गरेको छ ।
स्टामफोर्ड ब्रिजमा भएको पहिलो लेगको खेलमा घरेलु टोली चेल्सीमाथि बायर्नले ३–० को जित दर्ता गराएको थियो ।
दोस्रो लेगको खेलमा बायर्नको घरेलु मैदान एलिनाज एरिनामा लेवान्डोस्कीले २ तथा इभाँ पेरिसिक र कोरेन्टिन टोलिस्सोले १–१ गोल गरे ।