नवलपरासी पश्चिम । प्रहरी प्रमुख एसपी अजय केसीले जिल्लामा आएदेखि अबैध काम गर्नेमाथि धमाधम एक्सन लिँदै आएका छन् । बेलाबेला नेपालबाट भारततर्फ अबैध रुपमा निर्यात गर्ने गिरोह सक्रिय रहेको खबर सार्वजनिक हुँदै आएको थियो ।
तर नवलपरासी पश्चिम प्रहरीले अहिलेसम्म यति ठूलो परिमाणमा अबैध युरिया मल बरामत गर्न सकेको थिएन । यद्यपि एसपी केसीको जिल्ला अवागमनसँगै शनिबार ठूलो परिमाणमा अबैध युरिया बरामद भएको हो ।
नवलपरासीको रामग्राम नगरपालिका वडा नं ५ बाइपास चोक (परासी–महेशपुर सडक खण्ड) मा महेशपुर तर्फबाट परासीतर्फ आउँदै गरेको ना ४ च ८३८८नं को बोलेरो पिकअप र ना ५ च २९२६नं को बोलेरो पिकअपलाई रोकी चेकजाँच गर्ने क्रममा ना ४ च ८३८८नं को पिकअपमा ७८ बोरा र ना ५ च २९२६ नं को पिकअपमा ७१ बोरा युरिया मल फेला पारी सोधपुछ गर्दा उक्त मलवाहक सम्बन्धित कुनै पनि कागजपत्र फेला नपरेकोले दुबै पिकअप चालकसहित पिकअप र अबैध युरिया मल प्रहरीले नियन्त्रणमा लिएको हो ।
बरामद युरिया मलप्रति बोरा ५० केजीको दरले १४९ बोरामा ७४५० केजि साथैप्रति बोरा ७०० का दरले १ लाख ४ हजार ३ सय मूल्य बराबर र प्रति पिकअप १० लाखका दरले २ पिकअपको २० लाख गरी जम्मा २१ लाख ४ हजार ३ सय मुल्य बराबर अबैध मालसामान प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएको २ वटा पिकअप २ जना चालक र १४९ बोरा अबैध युरिया मल शनिबार आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी राजु लामाले बताए ।
केसीले अहिलेसम्म १ करोड ३५ लाख बराबरको मालसामान नियन्त्रणमा लिई आवश्यक कार्यवाहीको लागि भन्सार पठाइसकेका छन् ।