arrow

मकैका बोट सोत्तर

logo
प्रकाशित २०७७ साउन २५ आइतबार
Falelung_Gaunpalika.png

पाँचथर । तीन दिन निरन्तर चलेको हावाहुरीले बोट भाँच्दा पाँचथरको फालेलुङ गाउँपालिकामा पर्ने उच्च पहाडी क्षेत्रको मकैखेतीमा क्षति पुगेको छ । 

यही साउन १८ देखि २१ गतेसम्म निरन्तर हावाहुरी चलेको थियो । वर्षापछि हावाहुरी चल्दा यी स्थानमा लगाइएको मकैका बोट भाँचिएका हुन् ।

हावाहुरीबाट फालेलुङको वडा नं ३, ४, ५ र ६ को ठूलो क्षेत्र तथा वडा नं २ र ७ का केही स्थानमा लगाइएको मकैमा क्षति पुगेको हो । 

गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङका अनुसार गत २१ गते आएको हावाहुरीले सबैभन्दा वढी क्षति पुर्याएको हो । “तीन दिन निरन्तर हावा चल्दा कलिलो मकै केही बाँकी राखेन”, उनले भने, “मकैका बोट कि भाँचिएका छन् कि त सोत्तर भएर लडेका छन् ।” 

हावाहुरीले फालेलुङ–४ का महभिर, गैरीगाउँ, भैँसे, चेम्फुवा, खुर्बुक, चित्रे, फोक्टे, लाफे, तालखर्कलगायत टोल तथा वडा नं ५ का खेदोक, लुहुदिनलगायत टोलमा लगाइएको मकैखेतीमा अत्यधिक क्षति पुर्याएको उनले जानकारी दिए । गाउँपालिकाले प्राविधिक र सुरक्षाकर्मीसमेत लिएर अनुगमन थालेको उनले बताए ।
 
हावाहुरीबाट अत्यधिक क्षति पुगेको फालेलुङ–४ का वडाध्यक्ष विद्धिमान सावदेनका अनुसार जुँगा च्याप्ने तथा घोगो लगाउने अवस्थाका मकै भाचिँदा ठूलो क्षति पुगेको हो । 

यहाँको उच्च पहाडी क्षेत्रमा असोज, कात्तिक महिनामा मात्रै मकै पाक्दछ । “सधैँ पनि हावाहुरीले सामान्य क्षति पुर्याउँथ्यो”, उनले भने, “यस वर्ष निरन्तर वर्षा भयो । वर्षा रोकिनासाथ तीन दिनसम्म हावाहुरी चल्दा मकै भाचिँएर, लडेर कामै नलाग्ने अवस्थामा पुग्यो ।” ती वडामा मात्रै झण्डै ४०० परिवारको मकैखेतीमा क्षति पुगेको जनाइएको छ ।
 
“सबैभन्दा लेकमा बढी क्षति भएको छ । वडा नं ४, ५ र ६ मा बढी क्षति पुगेको छ”, वडाध्यक्ष सावदेनले भने, “हामीले क्षतिको यथार्थ विवरण सङ्कलन गरिरहेका छौँ ।” 

गाउँपालिकाभरिमा करिब एक हजार २०० परिवारको मकैखेतीमा हावाहुरीले क्षति पुर्याएको अनुमान गरिएको उनको भनाइ छ । उच्च पहाडी क्षेत्रमा खाद्य बालीमध्ये आलुपछि मकै जीविकोपार्जनको मुख्य स्रोत हो । तर फल्न लागेको मकै हावाहुरीले सखाप पारेपछि किसान निराश बनेका छन् । “केही न केही राहत दिनुप¥यो भन्ने किसानको माग छ”, उनले भने, “गाउँपालिकाको स्रोतले मात्रै राहत दिन सकिने अवस्था छैन ।”
 
गाउँपालिका अध्यक्ष केरुङ किसानले राहत माग्न थालेको बताउँछन् । “लेकमा न धान, कोदो फल्छ न अरु अन्न बाली नै”, उनले भने, “भएको मकैमा पनि क्षति पुगेपछि किसानलाई समस्या पर्ने नै भयो ।” 

हावाहुरीबाट मकैखेतीमा पुगेको क्षतिको विवरण सङ्कलनको काम जारी रहेको जनाउँदै गाउँपालिका अध्यक्ष केरुङले राहतका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल गरिने जानकारी दिए । 

उच्च पहाडी क्षेत्रमा माघ तथा फागुन महिनामा मकै रोप्ने गरिन्छ भने उक्त मकै असोज र कात्तिकमा मात्रै पाक्दछ । यहाँ ग्रामीण क्षेत्रमा मकै अत्यधिक खपत हुने गर्दछ । 

स्थानीयस्तरमा उत्पादित मकै खानाका साथै स्थानीय मदिरा उत्पादनमा समेत प्रयोग गर्ने गरिन्छ । पछिल्लो समय व्यावसायिक पशुपालन गर्ने किसानले पशुको आहाराको रूपमा समेत मकैको प्रयोग बढाउँदै लगेका छन् । 

हावाहुरीले मकैखेतीमा ठूलो क्षति पुर्याएपछि फालेलुङ गाउँपालिकाको उच्च पहाडी क्षेत्रका किसान समस्यामा परेका छन् ।



लोकप्रिय समाचार
नयाँ