भक्तपुर। संसारभर निगरानी बढाउन सिसीटीभीको प्रयोग बढेको छ। सार्वजनिक स्थानहरुमा सरकारले राख्दै आएको यस्ता सिसीटीभी सार्वजनिक तथा नीजि संस्था एवं व्यक्तिहरुले पनि आफ्ना घर तथा संस्थाहरुमा राख्दै आएका छन्। सिसीटीभीले खिचेको दृश्य अटोमेटीक रेकर्ड हुने हुँदा सुरक्षाको दृष्टीसँगै प्रमाणको रुपमा पनि ति दृश्यहरुको प्रयोग गर्ने क्रम बढेको छ ।
यस्तो सिसीटीभी कहाँ राख्ने र कहाँ नराख्ने भन्ने कुरा चाहि कुनै पनि संस्थाका जिम्मेवार अधिकारी र व्यक्तिका हकमा व्यक्ति स्वयंले निर्णय गर्ने कुरा हो। कतिपय आपराधिक मानसिकता भएकाहरुले मल, डिपार्टमेन्टल स्टोरहरुका चेन्जिङ रुपमा राखेर त्यसलाई गलत ढंगले दुरुपयोग गरेर पछि कानुनी कार्वाही भोगेका उदाहरण पनि छन् ।
संस्थागत रुपमा राखिने सिसीटीभी भने कहाँ कहाँ राख्ने भन्नेमा त्यस संस्थाका अधिकारीहरुले नै टुंगो लगाउने हो । अझ खासगरि अस्पताल जस्तो संवेदनशील ठाउँमा कहाँ कहाँ राख्ने भन्नेमा चाहि विवेकको पनि कुरा हो । तर विवेक पुर्याउनु पर्नेहरुले जासुसी गराउने नियतले यस्ता प्रविधीको प्रयोग गर्छन भने त्यस पछाडीको नियतमाथि जो सुकैले पनि प्रश्न गर्ने नै भए।
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा लामोसमयदेखि जडान भएका अडियो सहितको सिसीटीभीले निवर्तमान प्रमुख डा पुकार श्रेष्ठको नियत प्रष्टयाएको अस्पतालका कर्मचारीहरु बताउँछन् ।अस्पताल परिसर र मानिसहरुको आवतजावत हुने ठाउँमा मात्र नभनी विरामीहरुको निजत्व समेत निगरानी हुने गरि डा पुकारले प्रत्येक कोठामा अडियो सहितको सिसीटीभी लगाउन लगाएका थिए। विरामीहरुको गोपनीयतामाथि पनि चियोचर्चो गर्नेगरि लगाइएको सिसीटीभीको लगाउने समयमै चर्को बिरोध भएपनि त्यस समयमा उनले कसैको कुरा सुनेनन्। बरु उल्टै दुई कार्यकाल गरि आठ बर्ष केन्द्रमा हैकम जमाए।
अस्पतालमा रहँदा विवादास्पद घटनामा पटकपटक जोडिएका पुकार प्रत्येक कर्मचारीलाई शंकाको दृष्टीले हेर्ने गरेको कर्मचारीहरु बताउँछन्। त्यसकारण पनि उनले शौचालय बाहेक अस्पतालको प्रत्येक कुनालाई समेट्ने गरि सिसीटीभी लगाइदिएका थिए ताकी आफ्ना बिरुद्ध कहि कतै षडयन्त्र नहोस, कुरा नकाटियोस। नभन्दै उनले हाल्न लगाएको अडियो सहितको सिसीटीभी उनी गएपछि मात्र कर्मचारीहरुको आग्रहमा झिकिएको छ। डा प्रेमराज ज्ञवाली अस्पतालको प्रमुख भएर आएपछि अस्पताल परिसर, प्यासेज लगायतका आवश्यक ठाउँमा राखि विरामीको कोठा लगायत अन्य आवश्यक नभएको ठाउँबाट भने सिसीटीभी हटाइएको अस्पतालकै एक कर्मचारीले हाम्राकुरालाई बताए।
डा पुकारले आफ्नो आठ बर्षे कार्यकाल सकाएर जाँदा पनि सिसीटीभी मार्फत अस्पताललाई निगरानी गरिरहेको खुलेपछि पनि नयाँ नेतृत्वले अस्पतालको विभिन्न ठाउँ सिसीटीभी हटाउने मात्र गरेन पुकारले हेर्न नमिल्ने गरि पासवर्ड पनि परिवर्तन गरिदिएको छ। अस्पतालमा टिकिरहन सत्ता र शक्तिको अत्यधिक दुरुपयोग गरेका पुकारले त्यहि सत्ता र शक्तिकै बलमा कर्मचारीहरुमा खासगरि महिला कर्मचारीहरुको शोषण गरेको आरोप पनि लाग्दै आएको छ। हाम्राकुराको सम्पर्कमा आएका उनीहरुले पुकारको पोल खोलेका छन् । यस्तै पोल खुल्ने डरले पनि अस्पतालमा उनले अडियो सहितको सिसीटीभी राखेको उनीहरुको दावी छ। तेस्रो कार्यकालका लागि पनि केन्द्रमा प्रमुख हुन चाहेका पुकारको पुकारा यो पटक सुनुवाई भएन । उनले आफ्नो प्रभावमा नियक्त गरेकाहरु बाहेक सबै उनको विपक्षमा उभिएपछि पुकार यो पटक पर्न सकेनन्। उनको वहिर्गमनसँगै जासुसीको नियतबाटै उनले राखेको सिसीटीभी पनि उप्काइएको छ।