काठमाडौं । साउन ३ गतेदेखि सत्याग्रहमा बसेका इनफ इज इनफका अभियन्ता ‘ई’ र सरकारबीच सहमति भएपछि २३ दिनदेखिको सत्याग्रह समाप्त भएको छ ।
इनफ इज इनफले विज्ञप्ति निकाल्दै सत्याग्रह समाप्त भएको घोषणा गरेको हो । कोरोना भाइरस कोभिड १९ को सबल व्यवस्थापनमा केन्द्रीत सम्झौता कार्यान्वयनको पूर्ण जिम्मेवारी नेपाल सरकारले ग्रहण गर्नु सुखद घटनाक्रम रहेको भन्दै अभियानले सत्याग्रह तोडिएको जनाएको हो ।
सरकार, इनफ इज इनफ र विषयगत विज्ञ विशेषज्ञ समेतको संलग्नतामा प्राप्त निष्कर्षको सम्पूर्ण श्रेय वा पालना नहुँदाको जस अपजस प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा स्वास्थ्य मन्त्री भानुभक्त ढकालमा निहीत भएको समेत इनफ इज इनफले विज्ञप्तिमार्फत जनाएको छ ।
विज्ञप्तिमा ‘नेपालीको जीवन रक्षाका लागि सत्यको आग्रह गर्यौं, २३ दिनसम्म बिना खाना, पानी सत्याग्रहसमेत बस्यौं’ भनिएको छ ।
यसअघि सत्याग्रही ई र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट सहप्रवक्ताले १३ बुँदै सहमित पत्रमा हस्ताक्षर गरेका थिए ।
सहमतिमा कोभिड १९ परीक्षण गर्न आरटी पीसीआर प्रयोग गर्ने, परीक्षणको संख्या बढाउन आवइश्कता अनुसार प्रयोगशाला सामग्री र दक्ष जनशत्तिःको पर्याप्त व्यवस्था गर्ने, पीसीआर परीक्षणको नतिजा यथाशीघ्र उपलब्ध गराउने, कन्ट्रयाक्ट ट्रेसिङलाई व्यापक र प्रभावकारी बनाउने, विज्ञहरुबाट रचनात्मक सुझाव लिने लगायत रहेका छन् ।
त्यस्तै सहमतिमा दस्तखत गरेकै मितिबाट अनसनरत सत्याग्रही युवाले आफ्नो अनसन अन्त्य गर्ने सहमति पनि भएको थियो ।
यसअघि सरकार र अभियानबीच असार २२ गते पहिलो चरणको सम्झौता भएको थियो । तर सरकारले सहमति पालना नगरेपछि इनफ इज इनफ अभियानले साउन ३ गते दोस्रो चरणको सत्याग्रह थालेको थियो ।