काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोनाको संक्रमण देखिएपछि केही दिनका लागि बन्द गरिएको भेटघाट शनिवार महासचिव विष्णु पौडेल र ५ नं प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलका लागि खुला भएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डकोबीचमा गत मंगलबारदेखि रोकिएको संवाद खुलाउने उदेश्यका साथ खुमलटार पुगेका नेताद्वयलाई ढोका खुला गरिदिएको प्रचण्डको नीजि सचिवालयले जनाएको छ । उनीहरु दुई अध्यक्षबीच रोकिएको वार्तालाई निरन्तरता दिने उदेश्यले शनिबार खुमलटार पुगेका हुन् । उनीहरु त्यहाँ दुई घण्टा बसेर प्रचण्डलाई फकाउन लागि परेका थिए ।
पार्टीभित्रको आन्तरिक विवाद दिनप्रतिदिन जटिल मोडमा पुगेको र दुई अध्यक्षबीचको संवाद हुन नसकेको अवस्थामा उनीहरु संवाद गराउने उदेश्यका साथ खुमलटार पुगेको खुमलटार निकट स्रोतले जनाएको छ । विवाद जटिल मोडमा पुगेका बेला दुई अध्यक्ष ओली र प्रचण्डबीच हुने भनिएको छलफलसमेत स्थगित भएको छ । आन्तरिक विवाद समाधानका लागि गत बुधबार साँझ हुने भनिएको छलफल प्रधानमन्त्री केपी शर्मा ओलीले समय अभाव भन्दै स्थगित गरेका थिए । दुई अध्यक्ष र वरिष्ठ नेता झलनाथ खनाल र सुवास नेम्वाङ सहित विवाद निरुपणको लागि तीन दिनदेखि लगातार छलफल भएपनि कुनै टुंगोमा पुगेको छैन । एकता प्रकृयादेखि अहिलेसम्म आइपुग्दा ओली दाहालवीच सरकार सञ्चालन र पार्टी सञ्चालनकै विवादमा कुरा मिल्न सकेको छैन । बिहीबार संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पनि प्रचण्डसँग छलफल गरेका थिए । उनीहरुबीच पनि कुनै निकास निस्केन । प्रचण्डले नेम्वाङसँग आफूहरु सहमतिकै पक्षमा रहेको, अहिलेको गतिरोध अन्त्यका लागि अर्का अध्यक्ष ओलीले निकास दिनुपर्ने बताएका थिए । त्यतिबेला नेम्वाङले पनि संवाद सुचारु गर्न प्रचण्डलाई आग्रह गरेका थिए ।
शनिबारको भेटमा पौडेल र पोखरेलले पनि दुई अध्यक्षवीचको सहमतिमा जोड दिए । तर उनीहरुले के के विषयमा सहमति गर्न सकिन्छ भनेर कुनै ठोस प्रस्ताव लिएर गएका थिएनन । ‘उहाँहरु आएर सहमति गर्नुपर्छ भन्नुभयो प्रस्ताव के हो त भनेर सोध्दा कुनै ठोस प्रस्ताव ल्याएको देखिएन’, खुमलटार निकट स्रोतले भन्यो । सहमति गर्नुपर्छ भन्ने पौडेल पोखरेलको जवाफमा प्रचण्डले आफूहरु सहमतिकै पक्षमा रहेको, तर अहिलेको गतिरोध अन्त्यका लागि अर्का अध्यक्ष ओलीले निकास दिनुपर्ने बताएका थिए । ओली आफ्नो अडानमा टसका मस नभएको भन्दै उनले मिल्नुपर्ने प्रस्ताव लिएर आउन सुझाएका थिए । ‘पार्टीभित्र राम्रो अवस्था आओस भनेर नै आफूले पाँच वर्षसम्म ओलीलाई प्रधानमन्त्री दिन राजी भएको त्यसका लागि मंसिर ४ गते पार्टीको कार्यकारी अध्यक्षका लागि आफू तयार भएको तर उहाँले मलाई झन झन दबाउन खोजिएको बुझियो’, प्रचण्ड निकट स्रोतले प्रचण्डको भनाई उदृत गर्दै भन्यो ‘ मैले एउटा केन्द्रीय कमिटी बैठक, दुईवटा स्थायी कमिटी बैठक र दुई वटा सचिवालय बैठकको अध्यक्षता गरे त्यतिबेला सबै साथीहरुले आफूलाई चित्त बुझाउनु भने, बैठकबाट निस्कदा हाँसी खुशी हुनुभयो त्यसपछि चाहि ओलीले तुरुन्तै आफू निकटकालाई बोलाएर ‘पोलिसी सिफ्ट’ गर्नुभयो जस्ले गर्दा बैठक नै बस्न सक्ने अवस्थामा पुगेन ।’ पौडेल पोखरेलले पनि अबका दिनमा ओलीसँगै मिलेर जान आग्रह गरेका थिए । ‘भोलीको नेता तपाई हो भन्दै उनीहरुले तत्काल मिलेर सहमति गरेर जान प्रस्ताव गर्नुभयो ’, प्रचण्ड निकट स्रोतले पौडेल पोखरेलको भनाईलाई उदृत गर्दै भन्यो ।
ओली र प्रचण्ड, माधवकुमार नेपाल पक्षको विवादका कारण नेकपाको स्थायी कमिटी बैठकसमेत बस्न सकेको छैन । १० असारबाट सुरु भएको स्थायी कमिटी बैठकमा प्रचण्ड नेपाल पक्षले अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद छाड्न दबाव दिएका थिए । पटकपटक भएको वार्तामा सहमति जुटन नसकेपछि ओलीले १३ साउनको बैठक एकपक्षीयरुपमा स्थगित गरेका थिए । तर, प्रचण्डले बहुमत स्थायी कमिटी सदस्य राखेर ओलीको निर्णयमा आपत्ति जनाए । यद्यपि त्यो बैठकले अर्का अध्यक्ष ओलीसँग परामर्श गरेर स्थायी कमिटी सुचारु गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो । त्यसअनुसार दुई अध्यक्षबीच भेटवार्ता भएपछि पनि वैठक भएको छैन । तीन पटक लगातार झलनाथ खनाल र सुवास नेम्वाङसहितको दुई अध्यक्षबीच भेटवार्ता भएपनि ओलीले दुवै पद नछाड्ने प्रचण्डले दुई पद मध्ये एक छाड्न लगाउने रणनीतिकै कारण विवादले निकास पाएको छैन । ओली आफ्नो अडानमा कायमै रहेका छन् भने प्रचण्ड नेपाल समूह पनि आफ्नो अडानमा कायमै रहेका छन् ।