arrow

जसपामा पदको होइन‘कुर्सी’को लडाई, बाबुरामको मयार्दा फेरि पनि चौथौमै

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन २५ आइतबार
janata-samajwadi-party.jpg

काठमाडौं। राजनीतिक दलहरुमा अक्सर कुर्सीको लडाई हुन्छ । कुर्सीको लडाई भनिए पनि पदको लडाई भन्ने बुझिन्छ । तर जनता समाजवादी पार्टीमा भने साच्चिकै कुर्सीको लडाई भएको छ । साउन २१ देखि २४ सम्म बसेको पार्टीको कार्यकारिणी समितिको संयुक्त बैठकमा नेता बस्न राखिएको कुर्सीकै विषयमा लडाई भएको छ ।  
कुर्सी राखिएको ठाउँ चित्त नबुझ्दा केही नेताहरु बैठकमै उपस्थिति भएनन् । बैठकमा कार्यकारिणी समितिका ५१ सदस्यकोलागि छुट्टाछुट्टै कुर्सी राखिएको थियो । प्रत्येक व्यक्तिकोलागि कुर्सीमा नाम टाँगिएको थियो । आफ्नो नाम हेरेर सम्बन्धित व्यक्ति सम्बन्धित कुर्सीमा बस्ने व्यवस्था मिलाइएको थियो । 

तर कुर्सीमा राखिएको नामको बारेमा केही नेताहरुले असन्तष्टि जनाए । पार्टीका नेता अनिल झाले कुर्सीको विषयमा केशव झासँग बैठकमै आक्रोश पोखे । कुर्सी राख्न आफनो मर्यादा नमिलाएको भन्दै झाँलाई झाँको झारे । उनी बैठकमा एक दिन मात्र बसे । त्यो पनि २-३ घण्टा मात्र । उनी केही दिनदेखि विरामी पनि छन् । हाल उनी अस्पतालमा भर्ना भएका छन् ।  

आफनो मर्यादा नमिलाएर कुर्सी राखिएको भन्दै राजेन्द्र श्रेष्ठले पनि असन्तुष्टि पोखेको स्रोतको भनाइ छ । उनी बैठकमा एक दिन मात्र बसे । तर प्रकाश अधिकारीले भने चलाखीपूर्ण किसिमबाट पछाडि तीर राखिएको आफ्नो कुर्सीलाई अगाडि सारे ।  कुर्सी अगाडि राखे पछि ४ दिनसम्म उनी लगातार बैठकमै बसे । 

बैठकमा शरतसिंह भण्डारी उपस्थिति भएनन् । उनी अस्वसस्थाको कारण बैठकमा उपस्थित नभएको पार्टीका नेताहरु बताउछन् । तर उनी सुरुदेखि नै पार्टी अध्यक्ष महन्थ ठाकुरसँग असन्तुष्ट छन् । निर्जला राउत पनि बैठकमा उपस्थिति भइनन्  । 

४ दिनसम्म बसेको बैठकले ठोस रुपमा केही निर्णय गर्न सकेन । बैठकले नेताहरुको कार्यविभाजन पनि बाँडफाँड गर्न सकेन । बैठकमा नेताहरुको कार्यविभाजन गर्ने एजेण्डा राखिएको थियो । बैठकले खाली ५ सदस्यीय सचिवालय बनाउने निर्णय गर्यो । सचिबालयमा महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई,बाबुराम भट्टराई र राजेन्द्र महतोलाई राखिएको छ । सचिबालयलाई अधिकार सम्पन्न बनाइएको छ । यो नयाँ कुरा होइन । 

जसपामा बाबुरामको मर्यादा फेरि चौथौ नम्बरमै राखिएको छ । बाबुरामको मयार्दालाई अशोक राइ पछि राखेर बैठक समापन गरिएको छ ।‘अब बाबुरामजी औपचारिक रुपमै चौथो मयार्दामा हुनुहुन्छ’ एक नेताले बताए । यसअघि बाबुरामलाई राष्ट्रिय परिषद्को अध्यक्ष दिने भनी सहमति गरिएको थियो र तर बैठकमा एक शब्द पनि राष्ट्रिय परिषद्को विषयमा कुरा उठाइएन । बाबुरामले आफूले पनि उठाएनन् । अरु नेताहरुले पनि उठाएनन् । बैठकको प्रारम्भमा उपेन्द्र यादवले बोले । त्यसपछि बाबुरामले बोले । बाबुरामले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको विषयमा ब्याख्या मात्र गरेनन, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली नेपालकोलागि सबैभन्दा उत्तम बिकल्प भएको दावी गरे । बाबुरामको जुन भनाइलाई तत्कालिन राष्ट्रिय जनता पार्टीका नेताहरुले मन पराएनन् । पूर्व राजपाका नेताहरु अहिले पनि नवगठित पार्टी संसद्बाट निर्वाचित प्रधानमन्त्रीय पद्धतिमा पार्टी जानु पर्ने अडान राख्दै आएका छन् । यस विषयमा पार्टीमा टुंगो लाग्न सकेको छैन । 

बैठकमा कस कसलाई उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, प्रवक्ता, सचिव लगायतका पदहरु बाँडफाँड गने भन्ने विषयमा नेताहरुले टुंगो लगाउन सकेनन् । यसमा पूर्व समाजवादीका नेताहरुले पूर्व राजपालाई दोष दिने गरेका छन् । जसपाले १ सय ५१ सदस्यीय राजनीतिक समिति र ७ सय ५१ सदस्यीय केन्द्रीय समिति मनोनयन गर्न बाँकि नै छ । कार्यकारिणी समितिमा नअटाएका व्यक्तिहरुलाई राजनीतिक समिति र राजनीतिक समितिमा नअटाएमा केन्द्रीय समितिमा राख्ने आश्वासन ठाकुर र यादवले दिएका छन् । त्यसैले पनि पार्टीका दोश्रो तहका नेताहरुले तत्काल राजनीतिक समिति र केन्द्रीय समिति मनोनयन गर्न दबाब दिइरहेका छन । सुरुदेखि नै असन्तुष्ट राजकिशोर यादव र अनिल झालाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या ठाकुर र यादवलाई छ । 

गत बैशाख १० गते राती हतार हतारमा तत्कालिन राजपा र समाजवादीका नेताहरुले वार्ता गरी दुई पार्टी एकीकरण गरेर जनता समाजवादी पार्टी गठन गर्ने सहमति गरेका थिए । पार्टी गठन गर्ने सहमति हुँदा खाली एकीकृत पार्टीको नाम र महन्थ ठाकुरलाई पहिलो अध्यक्ष स्विकार गर्ने निर्णय बाहेक बाहेक अरु कुनै विषयमा सहमति भएको थिएन । त्यसपछि पार्टी भित्रको संगठनात्मक संरचना, घोषणपत्र, विधान, लगायतका विषयमा सहमति जुटाउन पार्टीका नेताहरुलाई  हम्मेहम्मे परिरहेको छ । 



लोकप्रिय समाचार
नयाँ