डोटी। डोटीको सायल गाउँपालिका–६ नारा गाउँका तीन बालक बेसाहारा भएका छन् । बुवाको मृत्युसंगै आमा सम्पर्कबिहिन हुँदा नौ बर्षका लक्ष्मण खाती, दुई वर्षका कृष्ण खाती र चार वर्षका गणेश बेसाहारा भएका हुन् । रोगले थला परेका ५५ वर्षीय बुवा बाजी खातीको करिब १४ महिनाअघि मृत्यु भएको सात महिनामा नै आमासमेत सम्पर्कविहीन हुँदा ऊनीहरुको बिचल्ली भएको हो ।
लामो समयदेखि दम र क्षयरोगसंग लडाइँ लडिरहेका खातीको मृत्यु भएसँगै सात महिनादेखि आमाले समेत छोडेका कारण बालकहरु अलपत्र भएका स्थानीय दिपक बहादुर खातिले हाम्राकुरालाइ जानकारी दिए । उनका अनुसार आफुहरुले सक्दो सहयोग गरि रहेको भए पनि अभिभावक नै सम्पर्कविहीन भएपछि बालबालिकाको विचल्ली भएको जानकारी दिए। उनले भने यी बालबालिको भविश्व अन्धकार हुने भएको भन्दै उनीहरुको अध्ययनका लागि सहयोगी संघसंस्थको खोजी गरिदिन अनुरोध गरेका छन्। अध्ययनसँगै खानपान आवासको पनि उचित प्रबन्ध भए उनीहरुको भविश्य उज्वल हुने खाति बताउँछन्।
भारतको उडिसा माइती घर भएकी गोमा खाती श्रीमानको मृत्यु भएको ६/७ महिनामा नै नाबालक छोराहरु छोडेर सम्पर्कविहीन भएकी छन् । अहिले नौ वर्षका लक्ष्मण आफ्ना दुईजना भाइहरूको अभिभाबको भुमिका निभाइ रहेका छन् । उनले छिमेकीसँगै मागेर भए पनि जसो तसो छाक टारिरहेका छन् । नौ वर्षिय लक्ष्मणलाई भाइहरूको सरसफाइ गर्नेदेखि साझ बिहान कसरी मुख जोड्ने भन्ने कुराले निकै पिरोल्ले गरेको उनको भनाइ छ।
छिमेकीले दिएको खानेकुरा खाएर पेट पालिरहेका बालबालिकाहरूलाई छिमेकीले पनि सधैँभरि खाना दिएर पाल्नसक्ने अवस्था नरहेको स्थानीय डबल साउदले बताए । कोराना भाइरस कोभीड -१९ का कारण धेरैलाई घर खर्च चलाउन नै गाह्रो छ, त्यसैमा पनि अलपत्र परेका तीन बालकलाई हेर्न धेरै गाह्रो भएको साउदको भनाइ छ ।
साहारा बिहिन भएका बालकका बारेमा पटक पटक स्थानीय सरकारलाई जानकारी गराउदा कुनै सुनुवाइ नभएको स्थानीयहरुले गुनासो गरेका छन् ।