काठमाडौं । भारतमा लगातार तेस्रो दिन ६२ हजार भन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
आइतबार ६२ हजार ११७ जना संक्रमित थपिए । यसअघि शनिबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित फेला परेका थिए ।
शनिबार ६५ हजार १५६ जना नयाँ कोरोना संक्रमित जोडिएका थिए ।
भारतमा अहिलेसम्म २२ लाख १४ हजार १३७ जना संक्रमित पुगेका छन् । सक्रिय संक्रमित ६ लाख ३४ हजार ९२९ जना रहेका छन् ।
निको हुनेमा आइतबार रेकर्ड बनेको छ । आइतबार ५४ हजार ४७४ जनालाई निको भएको छ । यो अहिलेसम्मकै बढी हो ।
हालसम्म निको हुनेको संख्या १५ लाख ३४ हजार २७८ जनालाई निको भइसकेको छ ।
आइतबार मात्रै १ हजार १३ जनाको ज्यान गएको छ । मृत्यु भने एकै दिन तेस्रो उच्च हो । अहिलेसम्म ४४ हजार ४६६ जनाको ज्यान गइसकेको छ ।
भारतले लगातार अमेरिका र ब्रजिललाई संक्रमणमा उछिनेको छ ।
आइतबार महाराष्ट्रमा १२ हजार २४८ जना संक्रमित थपिए । शनिबार एकैदिन महाराष्ट्रमा अहिलेसम्मकै सबैभन्दा बढी १२ हजार ८२२ जना संक्रमित थपिएका थिए ।
त्यस्तै आन्ध्र प्रदेशमा १० हजार ८२० जना कोरोना संक्रमित भेटिएका थिए । बिहारमा समेत ३ हजार ९३४ जना संक्रमित भेटिएका थिए ।