रंगेली । प्रदेश नं १ स्तरीय कोरोना उपचार अस्पतालहरु भरिएपछि रंगेली नगरपालिकाले आफै आईसोलेशन सेन्टर संचालनमा ल्याएको छ ।
रंगेलीमा समुदाय स्तरमै फैलिएपछि कोरोना संक्रमितलाई राख्न समस्या भएपछि नगरपालिकाले आईसोलेशन सञ्चालनमा ल्याएको हो ।
रंगेली नगरपालिकाले आफ्नै स्रोत र साधन परिचालन जनता क्याम्पसमा एक सय वेड क्षमताको कोरोना उपचारका लागि आईसोलेशन सेन्टर सञ्चालन गरेको हो ।
सेन्टरमा कोरोना संक्रमण पुष्टि भई लक्षण देखा नपरेका विरामी राखेर उपचार गरिने र थप उपचार आवश्यक परेका कडा लक्षणका विरामीहरुलाई प्रदेश कोरोना अस्पतालमा लगिने व्यवस्था मिलाएको रंगेली नगरपालिका मेयर दिलीप वगडियाले जानकारी दिए ।
मेयर वगडियाले पालिकास्तरीय आईसोलेशन सञ्चालन कार्य विधि अनुरुपको मापदण्ड अनुसार क्याम्पस भवनमै आईसोलेशन सेन्टर बनाएको जानकारी दिए ।
यसअघि नगरपालिकाले क्याम्पस भवनलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्दै आएको थियो । मेयर वगडियाले भने, ‘प्रदेश १ मा कोरोना संक्रमित दिन प्रतिदिन बढ्दै गएकाले हामीले रंगेलीबासीलाई उपचारमा समस्या नहोस् भनेर आईसोलेशन सेन्टर संचालन गरेका हौं ।’
आईसोलेशनमा अक्सिजन, तातो पानी, खाना, चिया फलफुलको प्रवन्ध गरिने छ । साथै साबुन, शौचालय र पानीको उचित प्रवन्धसंगै सरसफाईमा समेत ध्यान दिइने मेयर वगडियाले बताए ।
आईसोलेशनमा उपचारका लागी रंगेली अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रोहेन्द्र पाँडे नेतृत्वमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी रहने छन् ।
पछिल्लो समय रंगेलीका ३ स्वास्थ्यकर्मी , ५ विद्युत कर्मचारी र एकै परिवारका १४ जना सहित २२ जनामा पहिलो पटक समुदाय स्तरमै कोरोना पोजेटिभ संक्रमित फेला परेका थिए ।
त्यसैगरी कन्ट्याक ट्रेसिङमा थप ३० जना संक्रमित थपिएपछि प्रदेशका कोरोना उपचार केन्द्रले राख्न नमानेपछि नगरले जनता क्याम्पसलाई आईसोलेशनमा रुपान्तरण गरेको बुझिएको छ ।
नगरले संक्रमितको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी २४ घण्टा एम्वुलेन्स सेवा व्यवस्था मिलाएको छ । हाल रंगेली जनता क्याम्पसको आईसोलेशनमा लक्षण देखा नपरेका तर कोरोना पुष्टी भएका २८ जना कोरोना संक्रमित रहेका छन् ।
साथै नगरपालिकाले रंगेली तिरुपति बालाजी मन्दिरको भवनमा छुट्टै १ सय वेड क्षमताका क्वारेन्टिनसमेत रहिरहने छ । सो स्थानमा अन्य मुलुकबाट फर्की आएकाहरुलाई राखिने व्यवस्था मिलाएको जनाएको छ ।
प्रदेश सरकारले सञ्चालनमा गरेको कोशी, विपी र गोठगाऊको उपचार केन्द्र तथा आईसोलेशनहरुमा थप संक्रमण पुष्टि भएकाहरुलाई राख्ने ठाउँ नभएको बताउदै संक्रमित लिन नमान्ने गरेका छन् ।