arrow

कोरोनाले उद्योग व्यवसाय थलियो, १८ प्रतिशत व्यवसायी पलायन 

logo
प्रकाशित २०७७ साउन २६ सोमबार
corona-lockdown-hamrakura.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण करिब १८ प्रतिशत उद्यमी–व्यवसायी आफ्नो व्यवसायबाट पलायन हुने देखिएका छन् । 

कोरोना महामारी नियन्त्रण गर्न भन्दै गत चैत ११ देखि गरिएको लकडाउनका कारण प्रभावित १७ दशमलव ७ प्रतिशत उद्यमी–व्यवसायी आफ्नो व्यवसायलाई पुनः निरन्तरता दिन नसक्ने भएपछि व्यवसायबाटै पलायन हुने देखिएका हुन् । 

नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार ८२.३ प्रतिशत व्यवसायीले मात्रै आफ्नो व्यवसायलाई निरन्तरता दिन सक्ने देखिएका छन् ।

कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभावकोे अध्ययन गरेको नेपाल राष्ट्र बैंकले ८२.३ प्रतिशत व्यवसायीले बन्दाबन्दीपछि पनि आफ्नो पुरानै व्यवसायलाई निरन्तरता दिन सक्ने र केहीले बन्द गर्न चाहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

अध्ययन प्रतिवेदन अनुसार बन्दाबन्दीपछि होटेल तथा रेष्टुरेन्ट बाहेकका व्यवसाय सामान्य अवस्थामा फर्कन औसत ९ महिना लाग्ने देखिएको छ । 

त्यस्तै होटेल तथा रेष्टुरेन्ट क्षेत्रलाई सामान्य अवस्थामा फर्कन १ वर्ष भन्दा बढी समय लाग्ने देखिएको छ ।

राष्ट्र बैंकले ५२ जिल्लाका ६ सय ७४ उद्योगी व्यवसायीको सहभागितामा उक्त अध्ययन गरेको जनाएको छ ।

अध्ययन गर्दा थोक तथा खुद्रा व्यापारबाट २८.२ प्रतिशत, उतपादनमुलक व्यवसायबाट १८.२ प्रतिशत र होटेल तथा रेष्टुरेन्टबाट १६.५ प्रतिशत नमूना लिएर अध्ययन गरेको बताएको छ । 

त्यस्तै ३ वर्ष भन्दा कम अवधिमा सञ्चालनमा रहेका नवप्रवर्तक उद्यमी–व्यवसायहरुको सहभागिता २३.७ प्रतिशत, ठूलो उद्योगतर्फका ४.३ प्रतिशत र लघु घरेलु तथा साना उद्यमका ४२.७ प्रतिशत सहभागिता रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकले सर्वेक्षण विधिबाट गरेको उक्त अध्ययनमा बन्दाबन्दीको समयमा ४ प्रतिशत व्यवसाय मात्रै पूर्ण रुपमा सञ्चालन रहेको पाइएको छ । त्यस्तै ६१ प्रतिशत पूर्णरुपमा बन्द र २५ प्रतिशत उद्योग–व्यवसाय आंशिक रुपमा सञ्चालनमा रहेको पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

चैत ११ देखि गरिएको लकडाउन गत असार १ गतेदेखि केही खुकुलो भएको थियो । 

सो अवधिमा विभिन्न उद्योग व्यवसायमा आबद्ध कर्मचारीमध्ये २२.५ प्रतिशत कर्मचारी कटौतीमा परेका राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

अस्थायी र करारमा रहेका काम ६६ प्रतिशत भन्दा कटौतीमा परेका छन् ।
 



लोकप्रिय समाचार
नयाँ