सर्लाही । सर्लाहीमा लकडाउनलाई सोमबारबाट कडाईका साथ लागू गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (सीसीएमसी) को आइतबार दिउँसो सदरमुकाम मलङ्गवामा बसेको बैठकले सोमबार बिहान ६ बजेदेखि लागू हुने गरी लकडाउनको कडाईका साथ पूर्ण कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
परीक्षणको दायरा बढाइएसँगै मलङ्गवा, बरहथवा, ईश्वरपुर, लालबन्दी लगायतका स्थानमा जनप्रतिनिधि, सञ्चारकर्मी, राष्ट्रसेवक कर्मचारी, स्वास्थ्यकर्मी र वित्तीय संस्थामा कार्यरत कर्मचारीमा सङ्क्रमण पाइएकाले समुदाय स्तरमै सङ्क्रमण फैलिसकेको (सीसीएमसी) को बैठकले ठहर गरेको छ ।
यसै सन्दर्भलाई दृष्टिगट गर्दै कोरोनाको सङ्क्रमण समुदाय स्तरमा थप हुन नदिन स्थानीय प्रशासन ऐन २०२८ तथा सङ्क्रामक रोग ऐन २०२० बमोजिम जारी लकडाउनमा सोमबारबाट कडाई गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
उनका अनुसार सोमबारबाट अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घरबाहिर निस्कन निषेध गरिएको छ ।
खाद्यान्न र तरकारी पसलका सन्दर्भमा प्रत्येक दिन दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म खुला राखी भौतिक दूरी कायम गराई खरिद बिक्री गर्ने, स्वास्थ्य, विद्युत्, दुरसंचार, खानेपानी, दुध, फोहोरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी, पशुपंक्षीको दाना र कृषि कार्य बाहेकका अन्य बैंक तथा वित्तीय संस्था तथा कार्यालयहरुबाट प्रदान गरिने सेवा पनि तत्कालका लागि बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
सर्लाहीमा साउन २१ गतेदेखि लकडाउन जारी छ । यस्तै (सीसीएमसी) को आइतबारको बैठकले लकडाउन लम्ब्याएर साउन ३२ गतेसम्मका लागि पुर्याएको छ ।
बैठकले अबदेखि आरडीटी टेष्टमा पूर्ण रुपमा रोक लगाउने, क्वारेन्टिनमा बसेका व्यक्तिहरुको ५ देखि ७ दिन पूरा भएपश्चात अनिवार्य रुपमा पीसीआर टेष्ट गराउने निर्णय गरेको प्रजिअ पौडेलले बताए ।
त्यसैगरी भारतबाट जिल्ला प्रवेश गर्न खोज्ने व्यक्तिहरुलाई कडाईका साथ नियमन गर्ने, प्रवेश गरिसकेकाहरुलाई क्वारेन्टिनमा राखेर पीसीआर परीक्षण पश्चात नेगेटिभ रिपोर्ट आएपछि मात्रै गन्तव्यमा पठाउने र सीमाबाट प्रवेश गरेकाहरुको सङ्ख्या विष्लेषणको आधारमा आवश्यक थप क्वारेन्टिनको व्यवस्था गर्न मलङ्गवा नगरपालिकालाई अनुरोध गर्ने निर्णय गरिएको छ ।
सर्लाहीमा कोरोना सङ्क्रमणबाट मलङ्गवाकी एक महिलाको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको छ भने ८१० जनामा सङ्क्रमण पाइएको छ ।