वीरगञ्ज । पर्सामा कोरोना भाइरसको संक्रमणबाट फेरि एक जनाको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका– १५ भेडियाहीकी ४५ वर्षीया महिला सुनरी देवीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनको पर्साको नारायणी अस्थायी कोरोना गण्डक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
ती महिलाको शनिबार राति मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले जानकारी दिए ।
शनिबार स्वास्थ्यप्रश्वासमा समस्या देखिपछि परिवारले ती महिलालाई इण्डो नेपाल अस्पतालमा भर्ना गरेका थिए । स्वास्थ्यमा सुधार नआएपछि शनिबार नै कोरोना अस्पताल लगिएको थियो ।
उनी हाइपरटेन्सन र हाइपर थाइराइडको रोगी थिइन् ।
उनको मृत्युसंगै पर्सामा साउनयतामात्रै कोरोनाबाट १८ जनाको ज्यान गइसकेको छ ।
कांग्रेस नेता क्षेत्री संक्रमित
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका डा उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १६ जना पुरूष र ६ जना महिला रहेका छन् ।
संक्रमित हुनेमा १८ वर्षका देखि ५० वर्षसम्म रहेका छन् । सोमबार बिहान संक्रमण हुनेहरुमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४ जना नेपाल प्रहरी रहेका छन् ।
उनीहरु घरबिदाबाट फर्केर क्वारेन्टिनमा रहेका थिए । त्यसैगरी पोखरीया नगरपालिकाका २५ वर्षीय डाक्टर पनि संक्रमित भएका छन् ।
मेगनस फर्माका तीन कर्मचारीहरु पनि संक्रमित भएका छन् ।
संक्रमित हुनेमा एक जना नेपाली कांग्रेसका नेता पनि परेका छन् । कांग्रेस नेता जनार्दन सिंह क्षेत्रीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । क्षेत्री पूर्व जिल्ला विकास समिति सभापति हुन् ।