काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले हालै सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा विवादित व्यक्तिलाई नियुक्त गरेकामा आपत्ति जनाएको छ ।
टिआई नेपालका अध्यक्ष खेमराज रेग्मीले सोमबार विज्ञप्ति जारी गरी विवादास्पद छविका व्यक्तिलाई नियुक्त गरिएकाले खारेज गर्न माग गरेका छन् ।
“विश्वभरिका लगानीकर्ताको विश्वास आर्जन गरेर मुलुकमा राष्ट्रिय महत्वका ठूला विकास निर्माणका आयोजना भित्र्याउन सक्ने योग्य, इमान्दार र विश्वसनीय व्यक्तिको छनोट गरी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनुपर्नेमा नागरिकस्तरमा आलोचित व्यक्तिलाई नियुक्त गरिनु अत्यन्त आपत्तिजनक विषय हो”, विज्ञप्तिमा भनिएको छ ।
मन्त्रीपरिषदको बैठकले लगानी बोर्डको कार्यालयका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई नियुक्त गरेको थियो । गत सोमबार मन्त्रीपरिषदको बैठकले बोर्डमा नियुक्त गरेका भट्टले बुधबार एक कार्यक्रमका बीच बोर्डमा पदबहाली गरेका थिए ।
मन्त्रीपरिषदको बैठकले उनलाई बोर्डको सिइओ नियुक्त गरेपछि नियुक्त गर्ने प्रक्रिया र नियुक्त गर्ने सरकारको आलोचना भइरहेको छ । ठेक्कापट्टा हातमा लिएर अलपत्र पारेको र बिचौलियाको काम गरेको आरोप भट्टमाथि लाग्दै आएको छ ।