इस्लामावाद । पाकिस्तान सरकारले काश्मिर मुद्दामा मुस्लिम मुलुकहरुलाई भारतविरुद्ध एकताबद्ध बनाउने पटक पटक प्रयास गरेपनि प्रत्येक पटक असफलता नै हात लागेको छ । मुस्लिम मुलुकहरुको साझा संस्था अर्गनाइजेसन अफ इस्लामिक को-अपरेसन (ओआईसी) ले अर्को मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने भन्दै पाकिस्तानको प्रस्ताव अस्वीकार गरेपछि उसलाई अरु बेलामा झै असफलता हात लागेको हो ।
पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार पाकिस्तानी विदेश मन्त्री शाह मोहम्मद क्वेरेसीले काश्मीर मुद्दाको बारेमा ओआईसीका परराष्ट्र मन्त्रीहरूको परिषद्लाई बोलाउन आग्रह गरेका छन् । पाकिस्तानले 'कश्मिरमा सँगै उभिन तयार रहेका इस्लामिक देशहरूको बैठक बोलाउने जनाएको हो ।
क्वेरेसीले साउदी अरेबियाको "अनुरोध" पछि पाकिस्तानले क्वालालम्पुर शिखर सम्मेलनबाट काश्मिर मुद्दा झिकेको बताए ।
रियाद सम्मेलनमा "काश्मिर मुद्दामा नेतृत्व देखाउने" अपेक्षा पाकिस्तानले गरेको छ । ओआईसीको विदेश मन्त्रीहरूको बैठकको लागि पाकिस्तानले जोड दिइरहेको छ । भारतले जम्मू काश्मिरलाई विशेष दर्जा दिएर धारा ३७० लाई खारेज गरेपछि पाकिस्तान भारत बिरुद्ध अभियानमा छ ।
पाकिस्तानले काश्मिर मुद्धालाई अन्तराष्ट्रियकरण गर्ने प्रयास गरेपछि भारतले अन्तर्राष्ट्रिय समुदायलाई काश्मिरको स्थिति खारेज गर्ने निर्णय आफ्नो आन्तरिक मामला भएको र यसमा धेरै देशहरुले समर्थन गरेको जनाउँदै आएको छ ।
डनले पाकिस्तानी कूटनीतिक स्रोतलाई उदृत गर्दै प्रकाशित गरेको समाचारमा साउदी अरेबियाले ओआईसी विदेश मन्त्रीहरूको बैठकमा इस्लामाबादको अनुरोधलाई स्विकार गरि काश्मिरको मुद्धालाई छलफलको बिषय बनाउन नसक्ने संकेत गरेको छ ।
ओआईसी सदस्यहरूबाट अपेक्षित प्रतिक्रिया प्राप्त गर्न असफल भएपछि प्रधानमन्त्री इमरान खानले भने, "यसको कारण यो हो कि हाम्रो आवाज सुनिँदैन र हामीबीच पूर्ण विभाजन छ । हामी ओआईसी पनि समग्रमा काश्मिरको मुद्धामा एकठाउँ हुन सक्दैनौं ।”