काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आन्तरिक विवाद कोरोनको संक्रमण जस्तै बढिरहेको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालवीच संवाद रोकिएका बेला विवाद निरुपण नहुँदा कोरोना संक्रमण र नेकपाको विवाद उस्तै भएको हो । अहिले वालुवाटारमा केपी ओलीले, खुमलटारमा प्रचण्डले र कोटेश्वरमा माधव नेपालले आफू निकट केन्द्रीय सदस्यहरुलाई बोलाएर परामर्श गर्ने काम भइरहेको छ । नेताहरुको सुरक्षा गार्डलाई कोरोना संक्रमण देखिएपछि निवासबाट बाहिर ननिस्केका शीर्ष नेताहरुले आफू निकट केन्द्रीय सदस्यहरुलाई निवासमै बोलाएर परामर्श गरिरहेका छन् । आ–आफ्ना निकटका नेताहरुलाई बोलाएर छलफल गरेको सन्देश प्रवाह गर्दै उनीहरु एकले अर्कालाई थकाउने गलाउने रणनीतिमा लागेका छन् ।
दुई अध्यक्षका बीचमा भेटघाट बन्द भएपनि आफू निकटका नेताहरुलाई भने गोप्य रुपमै बोलाएर भेटिरहेका हुन् । वालुवाटारमा सुवास नेम्वाङ, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, शंकर पोखरेलहरुको जमघट भैरहेको छ भने खुमलटारमा पनि वर्षमान पुन, देवेन्द्र पौडेल, हरिबोल गजुरेल, मातृका यादवलगायतका नेताहरुको भेटघाट चलिरहेको छ । पछिल्लो समय दुई अध्यक्षहरुले केन्द्रीय सदस्यहरुको भेला गरेर आफ्ना धारणा राखिरहेका बेला सोमबार वरिष्ठ नेता माधव कुमार नेपालले पनि आफू निकटका केन्द्रीय सदस्यहरुसँग भेटघाट गरेका छन् । सोमबार आफ्नै निवास कोटेश्वर दुई चरणमा नेताहरुलाई बोलाएर नेपालले भेटघाट गरेका हुन् । उनले नेताहरु जगन्नाथ खतिवडा, ठाकुर गैरे, प्रेमलकुमार खनाल, विजय पौडेल लगायतका नेताहरुलाई बोलाएर छलफल गरेका थिए । सोमबार नेता नेपालले दोस्रो तहका नेताहरुलाई बोलाएर भेटघाट गरेको नेपाल निकट एक नेताले बताए । उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहमतिमा ल्याउने प्रयास जारी भन्दै आफू निकटकालाई नआत्तिन आग्रह गरेका थिए ।
नेपालले पार्टीलाई विधिमा फर्काउन बैठक बस्ने हो भन्दै निरन्तर मिहिनेत गरेर ओलीलाई बैठकमा ल्याउनुपर्ने बताएका थिए । नेपालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘केपी कमरेड बैठकबाट भागिरहनुभएको छ। बैठकमा ल्याउन अन्तिमसम्म कोसिस रहन्छ । त्यसैका लागि प्रयत्न गर्ने हो। बैठकमा ल्याएपछि पार्टीमा उठेका तमाम विषयमा छलफल गरेर एउटा निष्कर्ष निकाल्नुपर्छ।’ ती नेताका अनुसार वरिष्ठ नेता नेपाललाई भेट्न केन्द्रीय सदस्यहरू दिलु पन्त, राजेन्द्र राई, निरज आचार्य, रामकुमारी झाँक्री, ठाकुर गैरे, माधव अर्याल, गणेश पहाडी, यज्ञराज सुनुवारपनि गएका थिए । भेटमा नेपालले ६३ जना सांसदले पार्टी विभाजनविरुद्ध हस्ताक्षर बुझाउनु सकारात्मक भएको भन्दै त्यसको प्रशंसा समेत गरेका थिए । कतिपय केन्द्रीय सदस्यले प्रधानमन्त्री ओलीको निर्देशनमा तलसम्म कार्यक्रम भएकाले त्यसको जवाफमा आफूहरूले पनि भेला गर्नुपर्ने धारणा राखेका थिए । तर नेपालले भने आफूहरुले त्यस्तो भेला गरेर थप गुटबन्दीमा लैजान नहुने बताएका थिए ।
असार १०मा शुरु भएको स्थायी कमिटी बैठक पटक पटक स्थगित भएपछि शीर्ष नेताहरुबीच कटुता बढ्दै गएको छ । जसको परिणाम नेताहरुले पत्रकार सम्मेलनको समेत आयोजना गरी विवादबारे बोल्नुपर्ने अवस्था आयो । चार शीर्ष नेताहरुले पत्रकार सम्मेलन गरेको भन्दै ओली पक्षले चित्त दुखाएपछि दुई अध्यक्षबीच बोलाचाल समेत बन्द भएको छ । दुई अध्यक्षको बोलचाल गराउन ओली पक्षका महासचिव विष्णु पौडेल र शंकर पोखरेलले शनिवार प्रचण्डलाई भेटघाट गरेर प्रयास गरेको भएपनि त्यो सफल हुन सकेको छैन ।