काठमाडौं । म्यान्चेष्टर युनाईटेड युरोपा लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा एफसी कोपनहेगनमाथि संघर्षपूर्ण जित निकाल्दै युनाईटेडले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
युनाईटेड १–० गोलले विजयी भएको हो । निर्धारित ९० मिनेटसम्म गोल नभएपछि थपिएको समयको ९५ औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा विजयी गोल गर्दै युनाईटेडलाई जिताएका हुन् ।
यसअघि खेलको ४५ औं मिनेटमा पाएको पेनाल्टीलाई मासोन ग्रिनवुडले गोलमा परिणत गर्न सकेका थिएनन् ।
युनाईटेडले सेमिफाईनलमा प्रिमियर लिगको प्रतिद्धन्दी क्लब वुल्भरह्याम्पटन वान्डेरर्स स्पेनिश क्लब सेभियाबीचको विजेतासंग खेल्नेछ ।
यो खेल मंगलबार राति हुनेछ । त्यस्तै अर्को क्वार्टरफाइनल खेलमा इन्टर मिलान विजयी भएर सेमिफाइनलमा पुगेको छ । इन्टरले बायर लिभरकुजेनलाई २–१ गोल अन्तरले हराउन सफल भएको हो ।
इन्टरका लागि निकोलो बार्बेला (१५ मिनेटमा) र रोमेलु लुकाकुले (२१ मिनेटमा) १–१ गोल गरे । २ गोलले पछि परेको बायरले २५ मिनेटमै काइ हाभर्जको गोलबाट अन्तर कम गरे पनि त्यसपछि गोल नहुँदा खेल इन्टरको पक्षमा गयो ।
अब इन्टरले सेमिफाइनलमा शक्तर दोनेस्क र बाजलबीचको विजेतासंग खेल्नेछ । दोनेस्क र बाजल मंगलबार राति भिड्ने छन् ।
युनाईटेडले चार सिजन अघि यस प्रतियोगिता जितेको थियो । म्यान्चेष्टर युनाईटेडले अब फाईनल प्रवेशका लागि उल्भ्स र सेभिल्लाबीचको विजेतासंग सोमबार खेल्नेछ ।