काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पोखरा विश्वविद्यालयमा २० दिनदेखि रिले अनशन बसेका विद्यार्थीको माग तत्काल पूरा गर्न आग्रह गरेको छ ।
नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले एक विज्ञप्ति जारी गरी पोखरा विश्वविद्यालयमा १० महिनादेखि रिक्त उपकुलपति, रजिष्ट्रर, डिनलगायत पदाधिकारी पदमा तुरुन्त नियुक्ति प्रक्रिया अगाडि बढाउन माग गर्दै रिले अनशनमा बसेका विद्यार्थीको माग तत्काल पूरा गर्न आग्रह गरेका हुन् ।
“१० महिनादेखि रिक्त रहेको पदाधिकारी नियुक्त प्रक्रिया तत्काल अगाडि बढाउन माग गरिरहेका बेला सरकार मौन बस्नु उदेकलाग्दो कुरा हो”, अध्यक्ष ढुङ्गानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
नेविसङ्घले त्रिभुवन विश्वविद्यालयअन्तर्गत विएससीएजी को ८औँ सेमेष्टर प्रणाली र नतिजा तुरुन्त प्रकाशन गर्नसमेत माग गरेको छ ।
यस्तै, पर्साको वीरगञ्जमा सबै स्वास्थ्य संस्थाहरुमा नियमित स्वास्थ्य सेवा प्रदान गर्न माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका विद्यार्थीलाई गिरफ्तार गरिएको भन्दै उक्त विद्यार्थीलाई तुरुन्त रिहा गर्नसमेत नेविसङ्घले माग गरेको छ ।
नेविसङ्घका महामन्त्री दीपक भट्टराईले पोखरा विश्वविद्यालयलगायत देशका विभिन्न विश्वविद्यालयमा पदाधिकारी नियुक्त नहुँदा हजारौँ विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै तत्काल पदाधिकारी नियुक्त गर्न माग गरे । नेविसङ्घले आफूले राखेका माग तत्काल सम्बोधन नभए कडा आन्दोलन गर्नेसमेत जनाएको छ ।
त्यस्तै नेविङ्घका अर्का महामन्त्री बलदेव तिमल्सिनाले पोखरा विश्व विद्यालयमा तुरुन्त पदाधिकारीहरु नियूक्त गर, अनसनकारी विद्यार्थीहरुको माग पूरा गर्नुपर्ने, त्रिवि अन्तरगत बीएससी एजीको ८औं सेमेस्टरको परीक्षा प्रणाली र नतिजा प्रकाशन तुरुन्त सुनिश्चित गर्न, विद्यार्थीको भविष्य माथि खेलवाड वन्द गर्न र वीरगंजमा गिरफ्तार गरिएका विद्यार्थी नेताहरु तुरुन्त रिहा गर्न माग गरिएको बताए ।
उनले आफूहरुका माघ संवोधन नभए नेविसङ्घका सम्पूर्ण विद्यार्थी आन्दोलित हुने पनि चेतावनी दिएका छन् ।