काठमाडौं । भारतीय पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन भएको एक बर्ष पुरा भएको छ । गत शुक्रबार सुषमा स्वराजको प्रथम वार्षिकोत्सवमा मनाइएको छ । सुषमा स्वराज राजनीतिक हिसाबमा बढी चिनिन्छिन् । तर, फिल्मी क्षेत्रको लागि पनि उनको भूमिका निकै महत्वपूर्ण रहेको छ । सुषमा स्वराजले सन् १९९८ मा वाजपेयी सरकारमा सूचनामन्त्री हुँदा फिल्म निर्माणलाई उद्योगको दर्जा दिएकी थिइन् ।
त्यतिबेला २५ प्रतिशतभन्दा बढी फिल्मको निर्माण बजारबाट ब्याजमा रुपमा पैसा लिएर गरिने गरिएको थियो । ब्याजदर पनि ३६ देखि ४० प्रतिशत हुने गथ्र्यो । ७० प्रतिशत फिल्ममा कुनै व्यवसायीको पैसा हुन्थ्यो । जसमा बिल्डर, ज्वेलर्स र व्यापारी पनि हुने गर्थे ।
५ प्रतिशतभन्दा कम फिल्ममा अल्डरवर्ल्डको पैसा लगाइएको हुन्थ्यो । उद्योगको दर्जा पाउनेबित्तिकै बैंकबाट फिल्म निमाणको लागि ऋण पाइन थाल्यो । यसले फिल्म निर्माण बढ्यो । साथै फिल्म निर्माणको लागि कम्पनीहरु पनि खुले र अन्डरवर्ल्डबाट पनि छुट्कारा मिल्यो ।
हृदयाघातको कारण दिल्लीको एम्स अस्पतालमा स्वराजको निधान भएको थियो । उनी ६७ वर्षकी थिइन् । स्वराजले सन् २०१४ मा गठन भएको मोदी सरकारको पहिलो कार्यकालमा विदेश मन्त्री नियुक्त भएकी थिइन् । उनले स्वास्थ्यको कारण देखाउँदै सन् २०१९ को निर्वाचनमा भने लोक सभाका लागि प्र्रतिस्पर्धाबाट बाहिर बस्ने इच्छा व्यक्त गरे अनुसार उनलाई भाजपाले उम्मेदवार बनाएको थिएन ।
विदेश मन्त्रीका रूपमा स्वर्गीय स्वराजले सफलताका साथ जिम्मेवारी निर्वाह गरेकी थिइन् । उनको वाकपटुता र स्पष्ट भाषण कलाले भारतीय राजनीतिमा भाजपाको प्रसिद्धिमा थप ख्याती मिलेको थियो ।