काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट नेपाल प्रहरीले कार्यकर्ता पक्राउ गरेकोमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले भर्त्सना जनाएको छ । नेविसंघले विश्वविद्यालयको प्राज्ञिक स्तरोन्नतिका लागि खबरदारी गर्दै आएको थियो ।
विद्यार्थी हकहित र विश्वविद्यालयको प्राज्ञिक स्तरोन्नतिका लागि नेविसंघले गरेको शान्तिपुर्ण आन्दोलनमा सरकारले गरेको दमन प्रति नेविसंघ केन्द्रीय समितिले भर्त्सना जनाएको हो । लोकतान्त्रिक पद्धतिभित्र रहेर गरेको शान्तिपूर्ण प्रदर्शनकमा क्रममा गिरफ्तार गरिएको नेविसंघको ठहर छ ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार र रेक्टरको कार्यालयमा तोडफोडको आरोपमा सम्झना खत्री, संजय चौधरी, हरी प्रसाद जोशी, राम बहादुर थामी, रमेश कुवँर,बिष्णु बडैला, मनोज कुवँर पक्राउ परेका छन् । विद्यर्थीहरुको तुरुन्त रिहाइको माग नेविसंघले गरेको छ ।
विद्यार्थीहरुलाई अविलम्ब रिहाइ नगरे सशक्त आन्दोलनमा उत्रने नेविसंघ महामन्त्री दिपक भट्टराईले बताए । यसअघि नेविसंघले उपकुलपति कार्यालयलगायतमा ताला लगाएको थियो।