दमौली । लागुऔषध मुद्दामा फरार व्यक्ति चार वर्षपछि पक्राउ परेका छन् । तनहुँ प्रहरीले लागुऔषध मुद्दामा फरार रहेका व्यक्तिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा व्यास नगरपालिका–५ चापाघाटका ३० वर्षीय रामबहादुर थापा र सोही ठाउँका २३ वर्षीय गोविन्द थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।
उनीहरु उपर तनहुँ जिल्ला अदालतले विसं २०७३ मङ्सिर ५ गते पाँच महिना २७ दिन कैदको फैसला गरेको थियो ।
पक्राउ परेकाहरुलाई सोमबार जिल्ला अदालत पेश गरिएकामा अदालतको आदेशबमोजिम उनीहरुलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।
विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फी र सरकारी बिगोसमेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी कार्यलाई प्रहरीले तीव्रता दिएको छ ।