मुगु। दुर्गम तथा पिछडिएका जिल्लाहरुमा बालबालिकाहरुमा कुपोषण दर बढदै गएको भन्दै सरकारी तथा गैर सरकारी संघ सस्थाहरुले उपचारात्मक, व्यवहारात्मक तथा खानपानमा सुधार ल्याउन भन्दै वर्षेनी ठुलो रकम खर्च गदै आएपनि प्रतिफल न्यून देखिदा पोषणमा राज्यको लगानी वालुवामा पानी सरह हुने गरेको छ।
पछिल्लो समय हिमाली जिल्ला मुगुका बालबालिकाहरुमा कुपोषणको समस्या बढ्दै गएको छ । कुपोषणका कारण ५ बर्ष मुनिका बालबालिकाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको पाईएको हो। पर्याप्त मात्रामा परिवार नियोजनका साधनहरुको प्रयोग नगर्नु, बाल बिबाह गर्नु, गरिबी तथा वेरोजगारी र कम उमेरमै बच्चा जन्माउनु नै कुपोषणको मुख्य कारण रहेका छन् ।
बिशेष गरेर २ बर्ष मुनीका बालबालिकामा कुपोषणको समस्या धेरै छन्। गलत खानपान, स्तनपानको कमी गरीबी लगायतका कारणले बालबालिकामा कुपोषणको समस्या बढ्दै गएको देखिन्छ। बिगतका बर्ष भन्दा यो बर्षको सुरुमै कुपोषणका बिरामीको संख्या जिल्लामा उच्च देखिएको स्वास्थ्यकमीहरुले बताएका छन् ।
एक महीनामै ३४ बालबालिकामा कुपोषण
जिल्लामा साउन महिनामा मात्रै ३४ जना बालबालिकामा जटील खाले कुपोषण समस्या देखिएको छ। साउन महिनामा मात्रै कुपोषणको समस्याका कारण ३४ बालबालीकालाइ जिल्ला अस्पाताल ल्याइएको छ। जसमध्ये ३१ जनालाई उपचारात्मक खाना (आर. यु. टि. एफ) १४ दिनका लागि दिएर घर पठाइएको छ भने ३ जनालाइ अस्पतालमै भर्ना गरिएको जिल्ला अस्पताल मुगुका सूचना अधिकारी तथा पोषण कार्यक्रमका फोकल ब्यक्ती परशुराम नेपालीले बताए ।
भर्ना गरिएका ३ जना बालबालिकालाई अस्पतालमा (एट–७५) नामक दूध खुवाएर उपचार गरिएको छ, भर्ना गरिएका ३ जना मध्य २ जनाको उपचार पछि घर पठाइएको छ। उनिहरुलाइ १४ दिनका लागि उपचारात्मक खाना(आर.यु.टि.एफ) दिइएको छ भने पछि अस्पतालमा आई डाक्टरलाइ जचाउँदा कुपोषण भएको थाहा पाएको सोरु गाउँपालिका ९ कालै गाउँकी हजारमती बिकले कुपोषणका कारण ओछ्यान परेकी आफनी १० महिनाकी छोरी सुनिता विकलाई ५ दिन देखि अस्पतालमा उपचार गराई रहेकी छिन् ।अस्पतालमा छोरीको उपचार सुरु भएपछि छोरीको स्वास्थ्यमा क्रमिक सुधार हुदै गएकाले छोरी बाच्ने आशा पलाएको पनि उनी बताउछिन्। उनका अनुसार गाउँ घरमा यस्ता बिरामी बच्चाहरु धेरै छन्, उपचारको लागि अस्पताल ल्याउनु भन्दा धामी, झाक्री हेराउने, जडीवुटी खुवाउने गदै आएका छन्। उनीहरुलाई आफना छोरा छोरी कुपोषण भएर यस्ता भएका हुन भन्ने बारे थाहा नभएको विकले बताइन् ।
जिल्लामा कुपोषणको सामान्यदेखि कडा खालका बिरामी बालबालिकाका लागि जिल्ला अस्पतालले उपचारात्मक खाना (आर.यु.टि.एफ) र एट– ७५ दूध खुवाएर उपचार गर्दै आएको छ । सप्रोस नेपाल नामक गैह्र सरकारी संस्थाले फोर्टीफाइड फ्लावर नामक पोशिलो खाना बितरण गर्दै आएको छ । कुपोषण देखिएका अधिक जसो बालबालिका सदरमुकाम आसपास क्षेत्रका रहेका छन् ।
जन्मान्तरको समस्याले कुपोषण बढ्दो
स्वस्थ बच्चाको लागि कम्तीमा २ बर्षको फरकमा मात्रै सन्तान जन्माउनु पर्ने स्वास्थ्य पोर्टोकलमा उल्लेख भएपनि पछिल्लो समय मुगुमा भने समय नपुगेरै बच्चा जन्माउने समस्या धेरै भएको र गर्भान्तर तथा जन्मान्तरमा ध्यान नदिदा कुपोषण बढिरहेको सूचना अधिकारी नेपालीको भनाइ छ । बालबालिकाको खानपिनमा बेवास्ता, पुरक आहारको समस्या, अपरिपक्क अवस्थामा बच्चा जन्माउनु लगायतका समस्याले पनि कुपोषणको समस्या बढ्दै गएको उनले जनाए ।
पर्याप्त मात्रामा परिवार नियोजनका साधनहरुको प्रयोग नगर्नु, बाल बिबाह गर्नु, गरिबी, बेरोजगारी र कम उमेरमै बच्चा जन्माउनु कुपोषणका मुख्य कारण भएकोको स्वास्थ्यकर्मी बताउँछन् । हाल कोरोना भाइरसका कारण सरकारले गरेको लगडाउनका कारण पनि बालबालिकामा कुपोषण बढेको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
राज्यले बर्षेनी पोषणका लागि लगानी बढाउँदै जाने तर उपलव्धी न्यून देखिदै आएकाले राज्य र गैर सरकारी संघ संस्थाहरुले कुपोषण घटाउन चालेका कदम माथी नै शंका उत्पन्न हुन थालेका छन् । पोषणका नाममा गरिने लगानी कतै नाम मात्रका त भएका छैनन अब लगानी गर्ने निकायले शुक्ष्म अध्ययन गर्नुपर्ने स्थानिय सरोकारवालाहरु बताउँछन्।