काठमाडौं । शिक्षा मन्त्रालय लाचार, निरही र गैरजिम्मेवार भएको नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आरोप लगाएको छ ।
कोरोना भाइरसको महामारीका बेलामा शैक्षिक क्षेत्र साह्रै नै नराम्रो सँग प्रभावित भएको अवस्थामा तनाव र दबाव झेलिरहेका विद्यार्थीहरूको मनोवल उकास्न तथा कोरोना महामारीका कारणले शिक्षा क्षेत्रमा परेका नकारात्मक असरलाई कम गर्न नेतृत्वदायी र अभिभावकीय भूमिका खेल्नुपर्ने शिक्षा मन्त्रालयको लाचार, निरीह र गैर जिम्मेवारपूर्ण रबैयाका कारण नेपाली विद्यार्थीहरु झन् बढी आहात भएको नेविसंघले जनाएको हो ।
नेविसंघका अध्यक्ष राजिब ढुङ्गानाले प्रेस विज्ञप्ति जारी गर्दै ‘पोखरा विश्वविद्यालयमा विगत १० महिनादेखि उपकुलपति, रजिष्ट्रार, डिन लगायत पदाधिकारीहरु रिक्त रहदाँ विश्वविद्यालयको शैक्षिक गतिविधिमा अत्यन्तै नकारात्मक प्रभाव परेकाले, ती पदहरुमा तुरुन्त नियुक्तिको प्रक्रिया अघि बढाई विश्वविद्यालयलाई धरासायी हुन बाट जोगाऔं भनी ने। वि। सघंका साथीहरु २० दिनदेखि रिले अनसनमा हुनुहुन्छ । सरकार निर्लज्ज भएर रमिता हेर्दै बसेको अवस्था छ । रिक्त हुनासाथ सरकार आफैले तदारुकता देखाइ नियुक्ति प्रक्रिया अघि बढाउनु पर्नेमा, १० महिनादेखि रिक्त रही विद्यार्थीहरु अनशन बसी आन्दोलन गर्दासमेत सरकार कानमा तेल हालेर बस्नु उदेक लाग्दो र हास्यास्पद कुरा हो । अतः सरकारले अब थप निर्लज्जता प्रदर्शन नगरी तुरुन्त नियुक्ति प्रक्रिया अघि बढाउन जोडदार माग गर्दछौं ।’ भनेका छन् ।
विज्ञप्तिमा ‘त्रिभुवन विश्वविद्यालय, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान अन्तर्गत बीएससी एजीको आठौं सेमेस्टरको परीक्षा गत फाल्गुन महिनामै सम्पन्न भइसक्नुपर्ने थियो । हालसम्म पनि उक्त परीक्षा सम्पन्न हुन नसकेकोले अन्तिम परीक्षा उत्तीर्ण गरी थप उच्च शिक्षा लिन वा आफ्नो क्यारियर सुरु गर्न मानसिक रुपमा तयार भएर वसेका विद्यार्थीहरु निराश हुनु परेको छ । अतः तुरुन्त कुनै वैकल्पिक परीक्षा प्रणाली अपनाई परीक्षाफल सार्वजनिक गर्न जोडदार माग गर्दछौं ।’ भनिएको छ ।
त्यस्तै ‘पर्सा जिल्लाको विरगञ्जमा सबै स्वास्थ्य संस्थाहरुमा नियमित स्वास्थ्य सेवा प्रदान गरियोस्, कोरोना संक्रमितको उपचारमा लापरवाही नगरियोस्, र कोरोनाका कारणले मृत्यु भएकाहरुलाई उचित क्षतिपूर्तिको व्यवस्था गरियोस् भनी शान्तिपूर्ण प्रदर्शन गरिरहेका विद्यार्थीहरुमाथि सरकारले गरेको दमनको घोर भत्सर्ना गर्दछु । शान्तिपूर्ण प्रदर्शनका क्रममा गिरफ्तार गरिएका विद्यार्थी नेताहरु विकाश तिवारी, मनोज साह र शिष हजाराको तुरुन्त रिहाइको जोडदार माग गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।
नेविसंघका महामन्त्री बलदेब तिलम्सिनाले सरकारले तत्काल नेविसंघका माग पूरा नगरे कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् । उनले शैक्षिक क्षेत्रमाथि गरिएको माफियाकरणसमेत बन्द गर्न चेतावनी दिएका छन् ।