काठमाडौं। पत्रकार बलराम वानियाँको शव फेला परे लगत्तै हेटौंडामा पोष्टमार्टमका लागि लगिएको छ। पत्रकार गिरिजा अधिकारीका अनुसार जिल्ला अस्पतालमा वानियाँको पोष्टमार्टमका लागि लगिएको उनको शवमा धेरै चोटहरु रहेका छन्। वानियाँको अनुहारमा धारिलो हतियारले काटेको जस्तो देखिने चोटहरु रहेका छन्। उनको अनुहार सुन्निएको देखिएको छ। नीलो डाम सहितका चोटहरु अनुहारमा धेरै देखिएको छ।
वानियाँको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित माण्डु जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको थियो। हाइड्रोको ड्याममा पानीको सतह घटेपछि उनको शब देखिएको हो। पहिचान हुन नसकेको उनको शब बुधवार मात्र पहिचान भएको थियो । वग्दै आएको उनको शरीर ड्याम क्षेत्रका डण्डीहरुमा ठोक्किएर धेरै चोट लागेको अनुमान प्रहरीको छ।
वानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएका थिए। उनी पछिल्लोपटक राजधानीको बल्खुचोकमा सोमबार करिब पौने चार बजे देखापरेका थिए। महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बानियाँ पुलमुनि जाँदै गर्दा उनको जुत्ता हिलोमा अड्किएको र त्यसपछि खोलाको पानीमा लडेपछि स्थानीयले उद्धार गर्ने प्रयास गरेका थिए। तर पानीको अत्याधिक वहाबले गर्दा उद्धार गर्न नसकेको स्थानीयले बताएका छन्। त्यसबेला उनको पहिचान खुल्न सकेको थिएन।
वानियाँले सोमबार दिउँसो करिब एक बजे कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लेख पठाएको जानकारी कार्यालयलाई गराएको कान्तिपुरले लेखेको छ। वानियाँको चीनसँग सीमा विवादको बारेमा वाइलाइन समाचार आएपछि भोलिपल्ट कान्तिपुरले पहिलो पृष्ठमै सो समाचारका बारेमा क्षमायाचना गरेको थियो। त्यसयता उनी कान्तिपुरमा नदेखिएको र उनका नाममा कुनै समाचारहरु प्रकाशित नभएको उनका सहकर्मीहरु बताउँछन्।
वानियाँ पछिल्लो पटक एक दशकभन्दा अघिदेखि कान्तिपुरमा कार्यरत थिए। उनले कान्तिपुर, नागरिकलगायतमा सम्बद्ध रही पत्रकारिता गरेका थिए। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।