रौतहट । रौतहटमा पछिल्लो ४ दिनयता कोरोना संक्रमितको संख्या बढेको छ । बुधबार गुजरा नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ६२ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।
पछिल्लो ४ दिनयता जिल्लाका बिभिन्न ६२ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यसले रौतहटमा समुदायस्तरमा कोरोना फैलिएको पुष्टि समेत गरिदिएको छ । जिल्लाको गौर नगरपालिकाका आइतवार १५ जनामा कोरोना पोजिटिभ देखिएको थियो भने सोमबार राजदेवी नगरपालिकाका १९ र कटहरीया नगरपालिकाका ९ जना तथा मंगलवार गरुडा नगरपालिकाका ११ जना र चन्द्रपुर नगरपालिकाका ५ जनामा संक्रमण देखिएको थियो ।
साउन २३ गते गुजरा नगरपालिकाका ७२ जनाको स्वाब संकलन गरेर परिक्षणको लागी पठाइएकोमा ३ जनामा संक्रमण पुष्टी भएको जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन हरेन्द्र गुप्ताले जानकारी दिए । हेटौडा प्रयोगशालाले दिएको रिपोर्टमा २ जना स्वास्थ्यकर्मी र एक जना सरसफाई कर्मचारीमा संक्रमण पुष्टी भएको उनले जानकारी दिए ।
संक्रमितहरु २५, २६ र २७ वर्षको पुरुष रहेको र उनीहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ्गको काम शुरु भएको गुप्ताले बताए । संक्रमितहरुलाई चन्द्रपुरमा रहेको आइसोलेसनमा राखिने तयारी रहेको छ ।
स्थानीय सरकारहरुले कोरोनाबिरुद्ध उचित जनचेतना फैलाउन नसक्नु र स्थानीय जनताहरुले हेलचेक्राई गर्दै भिंडभाड गर्नुले कोरोना संक्रमण फैलिएको र आउँदा दिनहरुमा झनै फैलिने चिकित्सकहरुको भनाई छ ।