काठमाडौं। म्यानमारले चिनियाँ परियोजना बेल्ट एन्ड रोडलाई ठूलो धक्का दिएको छ । बेल्ट एन्ड रोडको एक हिस्सा मानिएको चिनियाँ लगानीमा बनिरहेको योङ्न सिटी प्रोजेक्टमा अन्य विदेशी साझेदारहरुलाई पनि संलग्न हुन सक्नेगरि म्यानमारले अनुमति दिएको छ ।
चीनले अहिले विश्वव्यापीरुपमा आलोचना खेपिरहेका बेला अर्को एक दक्षिणपूर्वी मुलुक म्यानमारले पनि चीनलाई धक्का दिएको हो ।
म्यानमार सरकारले उक्त परियोजनामा अन्य विदेशी साझेदारहरुका लागि पनि खुला गर्ने निर्णय गरेको छ ।
चिनियाँ कम्युनिकेसन कन्सट्रक्सन कम्पनी (सीसीसीसी) ले म्यान्मारमा आफूबाहेक अन्यको प्रभुत्व नहोस् भन्ने चाहन्छ ।
यो परियोजना बाढी प्रभावित क्षेत्रमा भएको र सीसीसीसीको संलग्नताका कारण विवादित भएको यस विषयसँग जानकार स्रोतले बताएको छ ।
हङकङमा सूचीकरण भएको चिनियाँ राज्यको स्वामित्वमा रहेको कम्पनीलाई विकास सम्बन्धित भ्रष्टाचारको आरोप लागेको छ ।
अफ्रिकी र एसियाली १० मुलुकमा यस कम्पनीले विकास परियोजनाहरुमा भ्रष्टाचार गरेको आरोप लगाइएको छ । त्यसैगरी मलेसियाका पूर्वप्रधानमन्त्रीको भ्रष्टाचार काण्डमा समेत यस कम्पनीको संलग्नता रहेको बताइएको छ ।
यस वर्ष चिनियाँ राष्ट्रपति सि जिनपिङको म्यानमार भ्रमणका क्रममा दुई राष्ट्रपतिबीच योङ्गन सहर परियोजनामा हस्ताक्षर भएको थियो । योङ्गन सहर परियोजना चीन-म्यानमार आर्थिक करिडोरको अंग भएको बताइएको छ ।