काठमाडौं । राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले नेपालमा सरकार हैन भ्रष्टाचारमात्र रहेको बताएका छन् ।
उनले कोरोना भाइरसका नाममा सरकारले भ्रष्टाचार मात्र गरेको भन्दै देशमा भ्रष्टाचार बाहेक केही नभएको बताएका हुन् ।
डा लोहनीले सुतिरहेको मान्छेलाई उठाउन सकिने तर सुतेको अभिनय गर्नेलाई उठाउन नसकिने भन्दै लगानी बोर्डमा कालोसूचीमा परेकालाई सीइओ नियुक्त गर्नाले पनि स्पष्ट भएको बताए ।
नेकपाभित्रै पूर्व तीन प्रधानमन्त्रीले नियुक्ति गलत हो भनिरहँदा पनि सरकार नियुक्तिबाट पछि नहट्नुले भ्रष्टाचारको पारा निकै माथि पुगेको लोहनीले स्पष्ट पारे ।
उनले कोरोनाका नाममा गरिएको भ्रष्टाचार, ओम्नी काण्ड, यति काण्ड, लगानी बोर्डको नियुक्ति काण्ड, अदालतमा रञ्जन कोइराला काण्डले पनि सरकार भ्रष्टाचारमा लिप्त भएको स्पष्ट हुने बताए ।
लोहनीले लगानी बोर्डको नियुक्तिबारे अदालतले पछि सफाइ दिने दावी समेत गरेका छन् । अख्तियारसमेत पनि कि त निश्क्रिय कि त बेइमान बनेर बसिरहेको आरोप उनको छ ।
अध्यक्ष लोहनीले भ्रष्टाचार नियन्त्रण नगर्ने हो भने एउटा यस्तो पोइन्ट आउँछ त्यतिबेला जनता सडकमा ओर्लने दावीसमेत गरेका छन् ।
राप्रपा एक भएपछि सडकमा ओर्लने दावीसमेत उनले गरेका छन् । आफूहरुबीच पार्टी एकता बलियो हुने दावी पनि उनले गरेका छन् ।
राप्रपाको एक हप्ताभित्रै निर्वाचन आयोगमा दल दर्ता गर्ने पनि लोहनीले बताए ।
डा लोहनीले राम अयोध्यामा जन्मिएका हैनन् भनेर प्रधानमन्त्रीले भन्ने विषय नभएको बताए । आफ्नो असफलतालाई लुकाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र सहानुभूति पाउने उद्धेश्यले ध्यान अन्तै मोड्न खोजेको आरोप लगाए ।
उनले भारतसंग वार्ताको माध्यमबाटै समस्या समाधान गर्नुपर्नेमा त्यसमा सरकार कमजोर देखिएको बताए । उनले परराष्ट्र मन्त्रीको कामै नभएको आरोपसमेत लगाए ।
भारतसंग दूरी बढाउने काम ओली सरकारले गरेको आरोप पनि लोहनीले लगाए ।