लहान । कोरोना भाइरसको संक्रमण नियन्त्रण, रोकथाम तथा राहत वितरणका लागि स्थानीय तहले गरेको खर्चमा अनियमितता भएको भन्दै स्थानीयवासीले छानबिनको माग गरेका छन् ।
सिरहाको औरही गाउँपालिकाले कोरोना संक्रमण नियन्त्रण, रोकथाम र राहत वितरणको नाममा अनियमितता गरेको भन्दै स्थानीयवासीले छानबिन गर्न माग गरेका हुन् । औरही गाउँपालिका– ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको भवन अगाडि प्लेकार्डसहित युवाले बुधबार प्रदर्शन गर्दै कोरोना भाइरस नियन्त्रणका नाममा ठूलो अनियमितता भएकाले छानबिन गरी दोषीमाथि कारवाही गर्न माग गरेका छन् ।
यस्तै कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका नाममा सिरहाको लहान नगरपालिकामा व्यापक अनियमितता भएको भन्दै नेपाली कांग्रेसका नेता महेश चौधरीले सूचना माग गरेका छन्।
नेपाली कांग्रेसका राज्यव्यवस्था समितिका सदस्यसमेत रहेका चौधरीले लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेम भुसालसँग सूचना माग गर्नुभएको हो । सूचनाको हक प्रयोग गरी सूचनाका लागि नगरपालिकामा निवेदन दर्ता गराएको चौधरीले जानकारी दिए ।
कोरोना महामारीका बेला जनप्रतिनिधि र कर्मचारीले लिएको भत्ता नामावलीसहित प्रकाशित गर्न, इन्धन खर्च, क्वारेन्टिन व्यवस्थापनका लागि खरिद गरिएको सामग्रीको खरिद मूल्य र कोरोना नियन्त्रण गर्न गरेको खर्च विवरण खरिद मूल्यसहित सूचना माग गरिएको छ । त्यस्तै कोरोना संक्रमण नियन्त्रण तथा राहत वितरणका बेला बजार मूल्यभन्दा बढीमा समान खरिद गरिएको भन्दै सिरहा नगरपालिकामा केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।