काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले वर्तमान नेकपा नेतृत्व सरकार श्रमजीवीप्रती सबैभन्दा असहिष्णु रहेको बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस, युवा समिति कास्कीले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले कोरोना महामारीले काम विहिन भएपछि भोकभोकै मरिने डरले पैदलै हप्तौं लगाएर घर फर्किरहेको श्रमिकको दु:ख टुलुटुलु हेरिबस्ने, आफुलाई श्रमजीवी वर्गको सरकार भन्न कहिल्यै नथाक्ने तर श्रमिक भोकभोकै हुँदा पनि वास्ता नगरेको बताए।
पौडेलले नेपाली युवा श्रमिकहरु अझै पनि न्युनतम पारिश्रमिक भन्दा बाहिर रहेको,असुरक्षित कार्यस्थलमा काम गर्नु पर्दा दुर्घटनामा परि अङ्गभङ्ग तथा मृत्यु भईरहेको र सामाजिक सुरक्षाको दायरामा समेट्न नसक्नु सरकार जिम्मेवार रहेको बताए। निजामती, सैनिक, प्रहरीको छुट्टै अस्पताल भएपनि सबैभन्दा पीडित श्रमिक वर्गलाई सरकारको कुनै पनि कल्याणकारी कार्यक्रमले नछुनु कम्युनिष्टहरुको भ्रमको खेती मात्र भएको बताए । पौडेलले कोरोनापछी देखा परेको रोजगारीको समस्यालाई ध्यानमा राखी स्वदेशमै रोजगारीको नयाँ अवसर र क्षेत्र सृजना गर्न समेत माग गरे।
नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले नेपालमा युवा बेरोजगारको समस्या ठुलो चुनौती रहेको बताए । वार्षिक पाँच लाख युवा श्रम बजारमा आउने गरेता पनि यथोचित रोजगारी नपाउदा विदेशिनु पर्ने बाध्यता सृजना भएको एवं कोभिड-१९ पछि प्रायः सबै क्षेत्रको रोजगारी ठप्प हुँदा युवाहरु झनै भयावह अवस्था सामना गर्न बाध्य भएको बताए।
ट्रेड युनियन कांग्रेसका सल्लाहकार रामजी कुवरले विदेशी भुमिमा रगतपसिना बगाई पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानिरहेको भएपनि कोभिड-१९ का कारण वैदेशिक रोजगारीमा समस्या उत्पन्न हुने धारणा राख्नु हुँदै रेमिट्यान्स कुनै पनि राज्यको बेरोजगारी समस्याको स्थायी समाधान नभएकोले युवाहरूलाई सिपयुक्त बनाई रोजगारी सृजना गर्न सरकारसंग माग गरे।
महासचिव योगेन्द्र कुवरले युवाहरूमा राजनीतिप्रती वितृष्णा पैदा भईरहेको वर्तमान अवस्थामा ट्रेड युनियन कांग्रेसले युवा र महिलाहरुलाई संगठित गरि क्षमता अभिवृद्धि गराउदै हरेक संरचनाको नीति निर्माण तहमा प्रतिनिधित्व गराउदै आएको बताए। कुँवरले युवाहरूमा व्याप्त बेरोजगारी र अवसरविहिनतालाई सम्बोधन गर्न विशेष कार्यक्रम ल्याउनु पर्ने बताए।
केन्द्रीय सदस्य बलदेव तामाङले नेपालका हरेक परिवर्तनमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेका युवा शक्तिलाई राज्यले उचित नीति कार्यक्रम ल्याउन नसक्दा ठुलो संख्यामा विदेशिनु परेको उल्लेख गर्दै समृद्ध मुलुककालागी रोजगारी सृजना गर्नु पर्ने धारणा राखे।
गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्माले राज्यले युवाहरूलाई स्वदेशमै रोजगारीको ग्यारेन्टी गर्नु पर्ने बताए। कास्की जिल्ला अध्यक्ष विजयराज भण्डारीले दिवसमा मात्र युवाको कुरा उठ्ने र अरु दिनमा बिर्सने प्रवृत्ति त्याग्नु पर्ने धारणा राखे। कार्यक्रम ट्रेड युनियन कांग्रेस कास्की जिल्ला ,युवा अध्यक्ष सुर्य पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो।