सिन्धुपाल्चोक । जिल्लाको जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो जाँदा ठूलो क्षति भएको छ । शुक्रबार बिहान गएको पहिरोले २१ घर पुरेको जुगल गाउँपालिका २ का वडाध्यक्ष प्रताप लामाले हाम्राकुरालाई बताए ।
उनले सम्पूर्ण जानकारी पाउन सक्ने अवस्था नरहेको बताउँदै भने, ‘२१ घर पुरेको खवर छ । बेपत्ता हुनेमा एकै परिवारका ७ जना समेत छन् । अर्को घरका ४ जनासमेत पुरिएका छन् ।’
उनले ११० घर जोखिममा परेको बताए ।
सम्पर्कविहीनहरुको खोज र उद्धार हुन सकेको छैन । भौगोलिक विकटता र भिरालो जमिनका कारण माथिबाट पहिरो आएको र तलबाट पनि जमिन भासिएकाले उद्धारमा कठिनाइ भएको हो ।
वडाध्यक्ष लामाले हेलिकोप्टरबाट उद्धारको प्रयास भइरहेको बताए । उनले भने, ‘काठमाडौंबाट हेलिकोप्टर आउँदैछ । म पनि जान्छु ।’