जनकपुरधाम । जनकपुरको एक अस्पतालको लापरवाहीका कारण एक महिलाको मृत्यु भएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ ब्रह्मपुरीस्थित नवजीवन हस्पिटलको लापरवाहीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ धर्मवाण टोलकी ३५ वर्षीया रुकमणीदेवी सदाको मृत्यु भएको हो ।
पित्तथैलीमा भएको पत्थरी झिक्न शल्यक्रिया गर्दा चिकित्सकले आन्द्रा काटेपछि सदाको मृत्यु भएको पीडित परिवारले बताएका छन् । पेट फुल्ने, दुख्ने समस्या भएपछि २५ गते श्रावणमा रुकमणीदेवी सदालाई नवजीवन हस्पिटलमा भर्ना गरिएको थियो ।
सदाको स्वास्थ्यमा कुनै सुधार नभएपछि बुधबार अस्पतालले पेटको शल्यक्रिया गरेको थियो। शल्यक्रियाको एकदिनपछि बिहीबार मृत्यु भएको छ।
अस्पतालकै लापरबाहीका कारण मृत्यु भएको सदाका परिवारले बताए । आन्द्र काटिएपछि बिरामीको अवस्था गम्भीर बनेपछि अस्पतालका चिकित्सकले यहाँ हुँदैन बाहिर लैजानुस् भनेको सदाका भाइ इन्दल सदाले जानकारी दिए।
उपचार गर्न नसक्ने अस्पतालले पैसाको लागि बिरामी भर्ना गरेर लापरवाही गरी ज्यान लिएको आरोप मृतकका आफन्तले लगाएका छन् । न्याय माग्दा बिरामीका आफन्तमाथि प्रहरीले उल्टै अन्याय गरको स्थानीयहरु बताएका छन् ।