काठमाडौं। नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ९९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार जनाए अनुसार गत २४ घण्टामा ५९४ जना बिरामी थपिदा संक्रमित व्यक्तिहरूको सङ्ख्या २५,५५१ पुगेको छ ।
यो हप्ता कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या बढेको हो । गएको आठ दिनमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३९ जना पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्कारकार सम्मेलनमा दिएको जानकारी अनुसार अहिले ७,९१३ जनामा सक्रिय संक्रमण छ भने १७,०७७ जना भाइरसमुक्त भएका छन् ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार गएको २४ घण्टामा ११ हजार ५७५ वटा पीसीआर परीक्षण गरिएको छ । हालसम्म ४ लाख ९४ हजार ६१३ जनाबाट सङ्कलित स्वाब नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। सो अवधिमा २४० जना रोगमुक्त प्रमाणित भएका थिए । अहिले देशभरिका क्वारन्टीनमा १४ हजार ६३८ जना ब्यक्ति रहेका छन्।