arrow

नेपाल समूहका नेताहरु फकाउन ओलीको कसरत, सचिवालय बैठक बोलाउने दाहालको संकेत

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन ३१ शनिबार
oli-madhav.jpg.jpeg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल समूहका नेताहरुलाई आफ्ना गुटको बराबरी हैसियतमा जिम्मेवारी दिने प्रस्ताव गरेका छन् । नेकपाको आन्तरिक विवाद सुल्झाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनेकै दिन ओली समूहका केही नेताहरुले प्रधानमन्त्री ओलीको सो प्रस्ताव रहेको नेपाल समूहका नेताहरुलाई सुनाएका छन् । 

माधव नेपाल समूहका नेताहरुसँग निरन्तर सम्पर्कमा रहेका ओली समूहका नेताले शुक्रबार साँझ यस्तो प्रस्ताव सुनाएका थिए । ‘यो अत्यन्त गोप्य ढंगले आएको प्रस्ताव हो ओलीले पूर्व एमालेहरुलाई एक ठाउँ उम्भाउने भन्दै यस्तो प्रस्ताव गरेका हुन्’, स्रोतले भन्यो । तर यो प्रस्ताव कुन तहका नेताबाट आएको हो भन्नेबारेमा ती नेताले खुलाएका छैनन । 

यसअघि पनि पूर्व एमालेहरु मिल्नुपर्छ भन्दै ईश्वर पोखरेल लगायतका टोली कोटेश्वर पुगेका थिए । त्यहा पोखरेल लगायतका नेताहरुले माधव नेपाल सहित भीम रावल, सुरेन्द्र पाण्डेसँग वार्ता पनि गरेका थिए । त्यतिबेला नेपाल समूहले लिखित प्रस्ताव लिएर आउन आग्रह गरेपछि पोखरेलहरु हच्केका थिए । 

लामो समयदेखि जारी रहेको सत्तारुढ दल नेकपाभित्रको विवाद कार्यदल बनेसँगै समाधान उम्मुख भएको छ । दुई अध्यक्षबीच विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन गरेसँगै कार्यदलको बैधानिकतामाथि तीन शीर्ष नेताले प्रश्न उठाएका छन् । तीन शीर्ष नेताहरुले कार्यदलाथि प्रश्न उठाएपछि अध्यक्ष दाहालले सचिवालय बैठक बोलाउने संकेत गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार भएको दुई अध्यक्षबीचको छलफलमा विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन भएको थियो ।  कार्यदलले शनिवारदेखि काम शुरु गरेको छ । महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनेको सो समितिमा पूर्व माओवादीको तर्फबाट जनार्दन शर्मा र पम्फा भूषाल रहेका छन् भने शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल पूर्व एमालेका तर्फबाट रहेका छन् । उनीहरुले शनिवारबाट काम थालेका हुन् ।  

आन्तरिक रुपमा विवाद उत्पन्न भएपछि असार १०मा शुरु भएको नेकपाको स्थायी कमिटी बैठक समेत असार १८ पछि बस्न सकेको छैन । स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग भएपछि असार १८ पछि बैठक स्थगित हुँदा संवादहिनताको समस्या बढ्दै गएको थियो । दुई अध्यक्षबीच धेरै पटक छलफल भएपनि त्यसले निकास दिन सकेका थिएनन् । ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षको दुवै पद नछाड्ने अडान राखेको र दाहाल नेपाल समूह दुई मध्ये एक पद छाड्ने अवस्था सिर्जना गर्न लाग्दा बैठक अनिश्चित जस्तै बनेको थियो । तर विहिबार र शुक्रबारको बैठकमा ओलीले सरकार सञ्चालन पनि सचिवालय बैठकको निर्णय अनुसार नै गर्ने भनेपछि संवाद सकारात्मक चरणमा प्रवेश गरेको नेकपा उच्च स्रोतले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ