arrow

भारतीय स्वतन्त्रता दिवसपछि नजिकिए ओली र मोदी, यताबाट बधाई उताबाट धन्यवाद 

नक्सा विवादपछि बढेको दूरी स्वतन्त्रता दिवसमा नजिकियो, निरन्तर सम्वादको पहल

logo
प्रकाशित २०७७ साउन ३२ आइतबार
Oli-Modi.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको लामो समयदेखिको संवादहिनता तोडिएको छ । भारतको ७४ औं स्वतन्ता दिवसको अवसरमा शनिबार ओलीले मोदीलाई पहिले ट्वटीरमा ट्याग गरेर शुभकामना दिए । त्यसपछि टेलिफोन गरे । 

त्यसअघि भएको टेलिफोन गत अप्रिल १० तारिखमा थियो । त्यो दिन ओली र मोदीबीच कोरोना भाइरसको महामारी मिलेर रोक्ने सम्बन्धमा सहमति भएको थियो । त्यसपछि नेपालले नेपालको नक्सा अद्यावधिक गरी भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत समेटेर निकालेपछि एकाएक सम्बन्ध चिसिएको थियो । 

नयाँ नक्साले निम्त्याएको चिसोपन स्वतन्त्रता दिवसले नरम बनाउँदै 
त्यसउप्रान्त ओलीले तीन पटक टेलिफोन गरे पनि मोदीले ‘रेस्पोन्स’ गरेका थिएनन् । ओलीले विभिन्न प्रयास गर्दा पनि मोदी सम्पर्कमा आउन नचाहेपछि ओलीले एकाएक भारत आफूलाई पदबाट हटाउन चाहेको आरोप लगाउँदै संसदमा भाषण गर्न पुगेका थिए । 

त्यसपछि ओली त्यत्तिमै रोकिएनन् उनले आफ्नै दलका शीर्ष नेताहरु भारतीय दलाल भएको आरोप लगाएपछि उनको असार १० गतेदेखि बसेको पार्टीको स्थायी कमिटी बैठकमै नेकपाका शीर्ष नेताहरुले राजीनामा मागेका थिए । 

ओलीले संसदमा भारतले नेपालमा कोरोना फैलाएको आरोप लगाउन भ्याएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘चाइना कोरोना’ भने जसरी ओलीले ‘इन्डियन कोरोना’ भन्न भ्याएका थिए । 

त्यतिमात्र होइन ओलीले भारतको प्रतिक चिन्हसंगै सत्यमेव जयतेलाई असत्यमेव जयते भनी ब्याख्या समेत गरेका थिए । त्यतिमै ओली रोकिएनन् नेपालमा कोरोना भाइरसको महामारी फैलिरहँदा भगवान् रामको प्रसङ्ग ल्याएर राम भारतको अयोध्यामा नभई नेपालमै जन्मेको भनी विवाद निम्त्याएका थिए । 

अयोध्यामा राममन्दिर बन्दै गर्दा ओलीले नक्कली अयोध्या भन्न समेत पछि परेनन् । जबकि अयोध्यामा राममन्दिर बनाउन मोदीले शिलान्याससमेत गरेका छन् । 

एकाएक नयाँ नक्सा अद्यावधिकले चिसिएको ओली–मोदी सम्बन्ध नेपालले अंग्रेजीमा नक्सा अद्यावधिक गरेको भोलिपल्ट पुन नरमपन ल्याउन खोजेको देखिएको छ । 

गत शुक्रबार मात्रै नेपाल सरकारले अंग्रेजी भाषामा नेपालको नयाँ नक्सा अद्यावधिक गरेको थियो । उक्त अंग्रेजी नक्सा अन्तर्राष्ट्रिय स्तरमा पेश गर्न नेपाललाई सजिलो भएको छ । 

संयुक्त राष्ट्र संघसंगै कुटनीतिक नियोगहरुमा उक्त नक्सा पेश गर्न सजिलो भएको हो । 

संयोग जुरेको हुन सक्छ अघिल्लो दिन अंग्रेजी भाषामा नयाँ नक्सा सार्वजनिक गरिएको अर्को दिन ओली र मोदीबीच वार्ता भएको छ । 

ओलीले शनिबार बिहानै मोदीलाई ट्वीटरमा ट्याग गरेर स्वतन्त्रता दिवसको शुभकामना दिए । तर दिउँसो भने टेलिफोनमा ओली–मोदीबीच वार्ता भएको छ । 

उक्त वार्तामा पनि स्वतन्त्रता दिवसकै बारेमा शुभकामना र बधाई आदानप्रदान भएको छ । 

त्यसपछि मोदीले पनि ट्वीटरमा ओलीलाई धन्यवाद दिएका छन् । 

नयाँ वार्ताको पहल
लामो समय रोकिएको नेपाल भारत बीचको वार्ता पनि छिट्टै हुने बताइएको छ । परराष्ट्र स्रोतका अनुसार यसै हप्ता परराष्ट्र सचिव स्तरीय वार्ता हुन लागेको हो । 

यसलाई धेरै अर्थमा सकारात्मक रुपमा लिइएको छ । परराष्ट्रविद् दिनेश भट्टराई लामो समयको अन्तरालपछि ओली–मोदीबीच भएको छोटो टेलिफोन वार्ताले पनि धेरै अर्थ राख्ने बताउँछन् । 

उनका अनुसार दुई देशबीचको सम्बन्ध चिसिएका बेलामा टेलिफोन वार्ताले सकारात्मक सन्देश दिएको छ । सदिऔंदेखिको सम्बन्धलाई निरन्तरता दिँदै वार्तामा जोड दिनुपर्नेमा भट्टराईको सुझाव छ । 

नेपालले नयाँ नक्सा जारी गरेपछि कुटनीतिक पहल गर्न सकेको छैन । जसका कारण परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली आलोचनाका पात्र बनेका छन् । उनले हरेक प्रेस मिटिङमा वार्ताका लागि आफूले प्रयास गरे पनि भारतले जवाफ नदिएको बताउँदै आएका छन् । 

नक्सा विवादले बढेको दूरीलाई स्वतन्त्रता दिवसले नजिक ल्याउने प्रयास गरेको भन्दै परराष्ट्रविद् भट्टराई भने बहानाबाजी छाडेर अब पुनः वार्ताका लागि पहल गर्न पनि आग्रह गर्छन् । 

भारतको स्वतन्त्रता दिवसकै दिन आइसब्रेक, मोदी र ओलीबीच टेलिफोन संवाद



लोकप्रिय समाचार
नयाँ