काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आइतबार रातीदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १-१ रुपैयाँका दरले बढाएको हो ।
भारतबाट पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य बढेर आएका कारण तीनै किसिमको पेट्रोलियम पदार्थमा प्रतिलिटर एक एक रुपैयाँ वृद्धि गरिएको निगम स्रोतले जानकारी दिएको छ ।
योसँगै काठमाडौं उपत्यका, दिपायल र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९१ रुपैयाँ पुगेको छ । अन्य डिपोको तुलनामा उक्त डिपोहरुको मूल्य सबै भन्दा बढी हो ।
यसअघि निगमले गत साउन १८ गतेपनि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गर्दै उपत्यका पेट्रोलको मूल्य १ सय ४ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९० रुपैयाँ प्रतिलिटर पुर्याएको थियो ।
यस विषयमा निगमले केही बेरमा विज्ञप्ति जारी गर्ने तयारी गरेको छ । निगमले पछिल्लो समय खाना पकाउने एलपी ग्यासको मूल्यमा भने कुनै परिवर्तन नगरिएको जानकारी गराएको छ ।