arrow

सदस्यता अभियान लिएर टोल बस्तीमा कांग्रेस  

logo
जीवन शर्मा,
प्रकाशित २०७७ साउन ३२ आइतबार
nc-party-pravesh-programe-o.jpg

ओखलढुंगा। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको चौधौं महाधिवेशनको मिति तय भएसँगै सदस्यता अभियान लिएर नेताहरु टोलटोलमा पुग्न थालेका छन् । पार्टी सुदृढीकरणको जग मानिएको क्रियाशिल सदस्यता वितरण तथा नविकरणको अभियान लिएर सबै तहका नेता कार्यकर्ताहरु टोल बस्तीमा पुग्न थालेका हुन् । 

पार्टी महाधिवेशन तयारीको सबैभन्दा महत्वपूर्ण काम क्रियाशिल सदस्यता वितरण तथा नविकरण हो। सदस्यता वितरणलाई नेताहरुले विशेष महत्वका साथ हेर्ने गरेका छन् । महाधिवेशनको समयमा पार्टी भित्रको कुन समूहमा नजिक रहेका कति सदस्य आए भनेर नजिकबाट नियाल्ने र सदस्यता वितरणकै कुरालाई लिएर समूहगत विवाद समेत हुनेगरेका उदाहरणहरु प्रशस्त छन । हुन त पार्टी विधानमा क्रियाशिल सदस्यता प्राप्त गर्ने मापदण्ड स्पष्ट तोकिएको हुन्छ । तर व्यवहारत त्यस्तो नदेखिदा पार्टीभित्र वेलावेलामा सदस्यता सम्बन्धि विवादहरु आउने गर्दछन। 

नयाँ क्रियाशिल सदस्यता वितरण तथा नविकरणको काम प्रत्येक बर्ष गर्नुपर्ने भएपनि चुनावी बर्षमा आएर एकैपटक गर्दा अव्यवस्थित र विवाद उत्पन्न हुन सक्ने अवस्था आएको कतिपय नेताहरु बताउँछन् । सदस्यता वितरण र नविकरणको काम सम्पन्न गरी महाधिवेशनमा भाग लिनेगरी सदस्यता फाइनल गर्न करिव ३ महिनाको समय खर्च हुन्छ । सदस्यता वितरणको काम सम्पन्न भएपछि पार्टी महाधिवेशनको तयारी व्यवस्थापकिय पक्ष बाहेक ५० प्रसितशत भन्दा बढी पुरा भएको मान्न सकिने महासमिति सदस्य डिल्लीराम खनाल बताउँछन्।  

अहिले ओखलढुंगाका आठ स्थानीय तहका ७५ वडाहरुमा क्रियाशिल सदस्यता अध्यावधिक तथा वितरणको काम सम्पन्न गर्न जिल्ला र गाउँतहका नेताहरु अभियानका साथ खटेका नेपाली कांग्रेस ओखलढुंगाले जनाएको छ । सदस्यता अध्यावधिकसंगै राप्रपा, नेकपा, जसपा लगायत पार्टीका कार्यकर्ताहरु कांग्रेसमा समाहित हुने अभियान चलेको पार्टीले जनाएको छ । कांग्रेसको उक्त अभियानले कार्यकर्तामा उत्साह थपेको छ भने पार्टीप्रति नयाँ पुस्ताको आकर्षणमा बृद्धी हुँदैगएको पाइएको छ । 

पछिल्लो ६ महिनाभित्र ओखलढुंगामा विभिन्न पार्टीका एक हजार पाँच सय भन्दा बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेको तथ्यांक पार्टीमा रहेको जिल्ला सभापति प्रदीप कुमार सुनुवारले बताए। कांग्रेसमा प्रवेश गर्नेको लहर हेर्दा पार्टीमा निकै उत्साह र उर्जा थपिएको आफुहरुले महसुस गरेको सुनुवारको भनाइ छ । २०४८ सालमा नेकपा एमालेको संगठीत सदस्यता लिएर पार्टीमा निरन्तर लागेका स्थानीय नेताहरु समेत अहिले कांग्रेसमा आउन थालेको उनले जानकारी दिए ।

यसपटक साविक रहेका क्रियाशिल सदस्यको शतप्रतिशत नयाँ सदस्यता बढाउन सकिने व्यवस्था गरिएको छ । ओखलढुंगामा पुराना  क्रियाशिल सदस्यता ६ हजार तीन सय रहेकोमा शतप्रतिशत नयाँ सदस्यता बढाउँदा साढे बाह्र हजार पुग्नेछन् । नयाँ क्रियाशिल सदस्यले समेत १४ औ महाधिवेशनमा भाग लिन पाउने र अन्य पार्टीबाट आएका नेताहरुले महाधिवेशनमा चुनाव लड्न पाउने व्यवस्था रहेको पार्टीले जनाएको छ। 

विगतका अभ्यास हेर्दा पार्टीको आन्तरिक चुनावमा आफ्नो  प्रभाव जमाउन नेताहरु स्वयंले शुल्क तिरेर नजिकका र अन्य पार्टीमा आवद्ध कार्यकर्तालार्ई समेत दिइदै आएको क्रियाशिल सदस्यता यस पटक अलि व्यवस्थित हुने अनुमान गरिएको छ । सदस्यता लिन चाहाने कार्यकर्ताले सदस्यता शुल्क तिर्न थालेका र पार्टीलाई सहयोग गर्ने प्रतिबद्ध युवाहरु कांग्रेसको सिद्धान्तप्रति आकर्षीत हुदै गएको नेताहरुले बताएका छन् । कांग्रेसले क्रियाशिल सदस्यता अध्यावधिक अभियानसंगै पार्टी प्रंवेशको अभियानलाई निरन्तरता दिदै आएको संविधानसभा सदस्य एवं कांग्रेस नेता रामहरी खतिवडाले बताए। आउदो भदौ मसान्तभित्रमा जिल्ला समितिले क्रियाशिल सदस्यता अध्यावधिक गरी केन्द्रीय समितिमा पठाइसक्नु पर्ने कार्यादेश रहेको नेपाली कांग्रेस ओखलढुंगाले जनाएको छ । 



लोकप्रिय समाचार
नयाँ